इस्लामाबाद/असोज १९ गते। मोहम्मद अली नकवीद्वारा निर्देशित वृत्तचित्र-थ्रिलर ‘ह्याङ्गिङ बाइ अ वायर’ ९९औँ एकेडेमी अवार्ड्सको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधाअन्तर्गत ओस्कारका लागि पाकिस्तानको आधिकारिक प्रविष्टिका रूपमा छनोट भएको छ।
पाकिस्तान एकेडेमी छनोट समितिले यस चलचित्रलाई छनोट गर्दै पाकिस्तानी वृत्तचित्र निर्माणको क्षेत्रमा एउटा ऐतिहासिक कोसेढुङ्गाका रूपमा वर्णन गरेको छ। यससम्बन्धी घोषणा समितिकी उपाध्यक्ष साना जाहरा जाफरीले गरेकी हुन्।
नकवीद्वारा निर्देशित यस वृत्तचित्रको लेखन तथा निर्माण नकवी र बिलाल सामीले संयुक्त रूपमा गरेका हुन्। चलचित्रले सन् २०२३ अगस्टमा उत्तरी पाकिस्तानको बाटाग्राममा घटेको केबलकार दुर्घटनालाई चित्रण गर्छ; जहाँ लट्ठा चुँडिदा विद्यालय जाँदै गरेका ६ जना छात्रसहित आठ यात्रु खोँचभन्दा करिब ९०० फिट माथि हावामा अड्किएका थिए। त्यसपछिको उद्धार कार्यलाई पाकिस्तानमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै निकै चासोका साथ प्रत्यक्ष हेरिएको थियो।
यस चलचित्रले प्रत्यक्षदर्शीका फुटेज, बाँच्न सफल व्यक्तिहरूका बयान र उद्धारकर्ताहरूसँगको कुराकानी तथा घटनाको पुनर्निर्माण मार्फत कथा प्रस्तुत गरेको छ।
‘ह्याङ्गिङ बाइ अ वायर’ ले सन् २०२६ को ‘सनडान्स फिल्म फेस्टिभल’ को ‘वर्ल्ड सिनेमा डकुमेन्ट्री कम्पिटिसन’ मा प्रिमियर गर्नुका साथै ‘ट्रिबेका फेस्टिभल’ मा पनि प्रदर्शन भइसकेको छ।
यस चलचित्रको निर्माण एभरवन्डर स्टुडियो , युनिभर्सल पिक्चर्स कन्टेन्ट ग्रुप, माइन्डहाउस प्रोडक्सन र ६४औँ स्ट्रिट मिडियाले संयुक्त रूपमा गरेका हुन्। बेलायतमा यसको थिएटर वितरणको अधिकार ‘डगवुफ’ र अमेरिकामा ‘अब्रामोरामा’ सँग छ। यो चलचित्र २८ अक्टोबरदेखि ‘प्यारामाउन्ट+’ मा स्ट्रिमिङका लागि उपलब्ध हुनेछ।
यस छनोटसँगै बाटाग्राम उद्धारको यो कथाले ओस्कारको ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा पाकिस्तानको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ।
सन् १९५९ देखि पाकिस्तानले यस विधामा १३ वटा चलचित्र पठाइसकेको भए पनि हालसम्म कुनै चलचित्र अन्तिम मनोनयनमा पर्न सकेका छैनन्। सन् २०२२ मा साइम सादिकको “जोयल्यान्ड” सर्टलिस्ट हुनु नै यस विधामा पाकिस्तानको हालसम्मको सबैभन्दा ठूलो सफलता हो।















Discussion about this post