काठमाडाैं/असाेज २ गते। महालक्ष्मी व्रत धन, धान्य, समृद्धि र ऐश्वर्यकी देवी महालक्ष्मीको कृपा प्राप्त गर्न गरिने एक अत्यन्त पवित्र र फलदायी व्रत हो। सनातन हिन्दु धर्ममा यो व्रतको विशेष पौराणिक तथा धार्मिक महत्व रहेको छ। मुख्य गरी पौराणिक मान्यता अनुसार भगवान् श्रीकृष्ण र युधिष्ठिर संवादमा प्रमुख मानिन्छ ।
महाभारतको युद्ध हुनु अघि पाण्डवहरू दुःख र कष्टमा परेका बेला भगवान् श्रीकृष्णले राजा युधिष्ठिरलाई दुःख, दरिद्रता र कष्टबाट मुक्ति पाउन तथा गुमेको राज्य प्राप्तिका लागि १६ दिने महालक्ष्मी व्रत बस्ने सल्लाह दिनुभएको पौराणिक प्रसङ्ग रहेकाे छ भने महालक्ष्मीको उत्पत्तिकाे कथा पनि यसमा जाेडिन्छ । पौराणिक कथाअनुसार द्वापर युग वा सत्य युगदेखि नै आफ्नो धनधान्य र ऐश्वर्य स्थिर राखिराख्न देवी महालक्ष्मीलाई प्रसन्न तुल्याउने उद्देश्यले यो व्रतको परम्परा चलेको मानिन्छ।
यो व्रत प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमी (दुर्वाष्टमी/राधाष्टमी) को दिनबाट सुरु हुन्छ र भाद्र शुक्ल अष्टमीका दिन आरम्भ भई आश्विन कृष्ण अष्टमीका दिन समापन हुने भएकाले यसलाई १६ दिने महालक्ष्मी व्रत पनि भनिन्छ।
आरम्भ गर्ने विधि
सङ्कल्प र डोरो बाँध्ने: व्रतको पहिलो दिन बिहानै स्नान गरी चोखो भई १६ गाँठो पारिएको पवित्र रातो धागो (डोरो) हातमा बाँधेर महालक्ष्मीको व्रत बस्ने सङ्कल्प गरिन्छ।
कलश र लक्ष्मी स्थापना: पूजास्थलमा चोखो माटो वा बालुवामाथि कलश स्थापना गरी धन र समृद्धिकी देवी महालक्ष्मीको प्रतिमा वा चित्र राखी पूजा आरम्भ गरिन्छ।
पूजा र अर्पण: पूजामा कमलको फूल, चन्दन, अक्षता, फलफूलका साथै १६ वटा सिङ्गो सुपारी र १६ प्रकारका नैवेद्य वा मिष्ठान्न अर्पण गरिन्छ।
कथा श्रवण: हरेक दिन बिहान वा बेलुका महालक्ष्मीको आरती र महालक्ष्मी व्रत कथा सुन्ने/वाचन गर्ने परम्परा छ।
व्रत आरम्भको धार्मिक मान्यता
यो व्रत सुरु गरेर १६ दिनसम्म श्रद्धापूर्वक नियम पालन गर्नाले जीवनमा गरिबी र आर्थिक संकट निवारण हुने विश्वास गरिन्छ। महालक्ष्मीको कृपाले घरमा सुख, शान्ति, धनधान्य र समृद्धि प्राप्त हुन्छ।















Discussion about this post