जनकपुरधाम/भदौ ३० गते। मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरबाही, अनियमितता तथा सेवाग्राहीका समस्या तत्काल समाधान गर्न माग गर्दै युवा अभियन्ता किसन साहसहित मधेस युवा सञ्जालका अभियन्ताहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएका छन्।
ज्ञापनपत्रमा धनुषाको प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु, गजेन्द्रनारायण सिंह अस्पतालमा आर्थिक अभावका कारण सुत्केरी महिला अस्पतालबाहिर सुत्केरी हुनुपरेको घटना तथा जनकपुरस्थित मुस्कान अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि बिरामीको मृत्यु भएको घटनालगायत विषयमा निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न माग गरिएको छ।
अभियन्ताहरूले प्रत्येक अस्पतालमा २४ घण्टा गुनासो सुनुवाइ तथा बिरामी सहायता डेस्क स्थापना, विपन्न तथा असहाय नागरिकलाई प्रभावकारी निःशुल्क उपचार, अस्पतालहरूको नियमित तथा आकस्मिक अनुगमन र अनुगमन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
त्यस्तै, स्वास्थ्य संस्थाको दर्ता, अनुमति, नवीकरण, पूर्वाधार, उपकरण तथा जनशक्तिको पुनःअनुगमन, चिकित्सकीय लापरबाही वा गलत उपचारका घटनामा अनिवार्य छानबिन, अनावश्यक परीक्षण तथा उपचारका नाममा हुने आर्थिक ठगी नियन्त्रण र अस्पतालमा सरसफाइ, शौचालय, खानेपानी तथा संक्रमण नियन्त्रणका न्यूनतम मापदण्ड कडाइका साथ लागू गर्न माग गरिएको छ। ज्ञापनपत्रमा प्रसूति, नवजात शिशु, आकस्मिक, आईसीयू तथा शल्यक्रिया सेवामा आवश्यक चिकित्सक, नर्स, उपकरण, औषधि र २४ घण्टे सेवा सुनिश्चित गर्नुपर्ने मागसमेत गरिएको छ।
मागहरू पूरा गर्न १५ दिनको समयसीमा दिँदै अभियन्ताहरूले तोकिएको अवधिभित्र माग सम्बोधन नभए कानुनको अधीनमा रही शान्तिपूर्ण जनदबाब, धर्ना, प्रदर्शन, हस्ताक्षर अभियानलगायत लोकतान्त्रिक एवं वैधानिक कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिएका छन्।
ज्ञापनपत्रमा किसन साह, शम्भु कुमार सिंह, युवराज मिश्र, श्याम लाल, सीताराम सिंह, अंकित पटेल, अनुराग ठाकुर,अहमद खान सहित मधेस युवा सञ्जालका विभिन्न अभियन्ताहरूको हस्ताक्षर रहेको छ। अभियन्ताहरूले नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरकारलाई मागप्रति गम्भीर भएर तत्काल कदम चाल्न आग्रह गरेका छन्।















Discussion about this post