जनकपुरधाम/साउन १६ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्यु: आदेश हटाउँदै निषेधाज्ञा लागू गरेको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार आज बिहान १०:०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो ।
यसअघि साउन १४ गते दिउँसो ३:३० बजेदेखि जारी गरिएको कर्फ्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि हटाइएको प्रशासनले जनाएको छ ।
कर्फ्यु हटाइए पनि शान्ति सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३ क) बमोजिम चारकिल्लाभित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ ।
प्रशासनले तोकेको चारकिल्लाअनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा उत्तरतर्फ लक्ष्मीनिया हाट टबजार चोकबाट पश्चिम सिउरजोडा चोक हुँदै पूर्वमा लक्ष्मीपुर बगेबा सम्म, पूर्वतर्फ बेलौनी रोडस्थित एमक्यु स्टिलबाट ५०० मिटर पूर्वपेट्रोलपम्प हुँदै राष्ट्रिय प्राथमिक विद्यालयसम्म, दक्षिणतर्फ नगराइन नगरपालिकाबाट नगराइन चोकसम्म तथा पश्चिमतर्फ सिउरजोडा-मोहीनी-मनिमण्डप-नेपाल नर्सरी-इरकोन जनकपुर-दुहमती पुल-बेला-कादरी मस्जिद क्षेत्र समेटिएका छन् ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लङ्घन गर्ने जोकोहीलाई नियन्त्रणमा लिएर प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
















Discussion about this post