जनकपुरधाम/साउन ५ गते । मिटरब्याज पीडितसँग सरकारले गरेको ९ बुँदे सम्झौता खारेज गर्न माग गर्दै साहु–महाजनहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
खाएको ऋण तिर्नुपर्छ भन्ने नारासहित साहु–महाजन आबद्ध पीडित लेनदेन संघर्ष समितिले बुधबार धनुषा जिल्ला अदालतअगाडि भेला तथा प्रदर्शन गरेको हो । प्रदर्शनकारीहरूले सरकारले मिटरब्याज पीडितको दबाबमा एकपक्षीय रूपमा गरेको ९ बुँदे सम्झौताले वैधानिक रूपमा गरिएको लेनदेनसमेत प्रभावित भएको दाबी गरे ।
उनीहरूले ऋण लिएपछि फिर्ता नगर्ने प्रवृत्तिलाई सरकारी नीतिले प्रोत्साहन गरेको आरोप लगाउँदै वैधानिक लेनदेनको संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अदालतबाट समेत न्याय पाउन कठिन अवस्था सिर्जना भएको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।
संघर्ष समितिका सहभागीहरूले लेनदेनसम्बन्धी विवादलाई कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिँदै सरकारले गरेको ९ बुँदे सहमति तत्काल खारेज गर्न माग गरेका छन् । उनीहरूले वैधानिक रूपमा ऋण दिएका व्यक्तिलाई अपराधीसरह व्यवहार गरिएको गुनासोसमेत गरेका छन् ।















Discussion about this post