जनकपुरधाम/श्रावण २ गते। जनकपुरधाममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी समाचारलाई मर्यादित, समावेशी तथा मानवअधिकारमैत्री ढङ्गले सम्प्रेषण गर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको महासंघ, नेपालद्वारा शनिबार जनकपुरधाममा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा नैतिक, समावेशी र मानवअधिकारमा आधारित पत्रकारिताको आवश्यकता तथा सञ्चारमाध्यमको भूमिकाबारे विस्तृत छलफल गरिएको हो।
कार्यक्रममा महासंघकी सिमरण सेरचनले ‘यौनिक तथा लैङ्गिक अल्पसंख्यकसम्बन्धी नैतिक, समावेशी र मानवअधिकारमा आधारित पत्रकारिता निर्देशिका’ सार्वजनिक गर्दै यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायसम्बन्धी समाचार तयार गर्दा सत्य, निष्पक्ष, सम्मानजनक र अधिकारमुखी दृष्टिकोण अपनाउनुपर्ने बताउनुभयो। उहाँले व्यक्तिको गोपनीयता, सुरक्षा र स्पष्ट सहमतिलाई प्राथमिकता दिन तथा सनसनीपूर्ण प्रस्तुति र विभेदपूर्ण भाषा प्रयोग नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो।
कार्यपत्र प्रस्तुत गर्दै सेरचनले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अझै पनि सामाजिक बहिष्कार, विभेद, हिंसा र गलत सूचनाको सिकार भइरहेको उल्लेख गर्नुभयो। यस्ता समस्या न्यूनीकरण गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने भएकाले पत्रकारितालाई थप जिम्मेवार र संवेदनशील बनाउन निर्देशिका तयार गरिएको उहाँको भनाइ थियो।
निर्देशिकामा नेपालको संविधानले सुनिश्चित गरेको समानताको अधिकार, विभेदविरुद्धको अधिकार, सम्मानपूर्वक बाँच्न पाउने अधिकार र सामाजिक न्यायसम्बन्धी प्रावधानसँगै अन्तर्राष्ट्रिय मानवअधिकारका सिद्धान्तहरू समेटिएका छन्। साथै, यौनिक तथा लैङ्गिक विविधतालाई कुनै रोग, विकृति वा सामाजिक समस्याका रूपमा चित्रण गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ।
पत्रकार आचारसंहिताअनुसार समाचार लेख्दा व्यक्तिको सहमति, गोपनीयता, सम्मानजनक भाषा र सार्वजनिक हितबीच सन्तुलन कायम गर्नुपर्नेमा पनि जोड दिइएको छ। निर्देशिकाले व्यक्तिले आफूलाई जुन पहिचानबाट चिनाउन चाहेको छ, त्यसैअनुसार सम्बोधन गर्न, पहिचानभन्दा अधिकार र सरोकारका विषयलाई प्राथमिकता दिन तथा स्पष्ट सहमतिपछि मात्र व्यक्तिगत विवरण वा अनुभव सार्वजनिक गर्न सुझाव दिएको छ।
त्यसैगरी, सहमतिबिना कसैको यौनिक वा लैङ्गिक पहिचान सार्वजनिक नगर्न, सनसनीपूर्ण शीर्षक तथा अपमानजनक वा विभेदपूर्ण भाषा प्रयोग नगर्न र यौनिक वा लैङ्गिक पहिचानलाई अपराध, अनैतिकता वा सामाजिक समस्याका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
महासंघले जिम्मेवार, संवेदनशील र समावेशी पत्रकारितामार्फत समाजमा सम्मान, समानता र मानवअधिकारको प्रवर्द्धन गर्न उक्त निर्देशिकालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै सञ्चारकर्मी तथा सञ्चार संस्थालाई आह्वान गरेको छ।















Discussion about this post