काठमाडौं/श्रावण २ गते । हाल क्यानडाभरि ८०० भन्दा बढी डढेलोहरू सक्रिय रूपमा फैलिरहेका छन् ।
यसमा ओन्टारियोमा देखिएको डढेलोको ठूलो समूह र सीमा जोडिएको अमेरिकी राज्य मिनेसोटाका केही घटनाहरू पनि समावेश रहेका छन्।
क्यानडामा डढेलो लाग्ने घटनाहरू सामान्य भए तापनि पछिल्ला केही साताहरूमा यस्ता घटनाहरूको संख्यामा तीव्र वृद्धि भएको छ। अमेरिका र क्यानडा दुवै देशका अधिकारीहरूका अनुसार यसको मुख्य कारण जुन महिनाको अन्त्यतिर उत्तरी ओन्टारियोमा लामो समयसम्म कायम रहेको अत्यधिक गर्मी र औसत भन्दा कम वर्षा हुनु हो।
अत्यधिक र लामो समयसम्म रहने गर्मीले माटो र वनस्पतिबाट चिस्यान सोसिदिन्छ र यसरी सुकेका वनस्पतिहरू डढेलोका लागि इन्धनको काम गर्छन्।
तातो हावाले आँधीबेहरी पनि निम्त्याउन सक्छ, जसको तीव्र वेगले आगो र धुवाँलाई विभिन्न स्थानहरूसम्म पुर्याउँछ। अमेरिकाभरि यसको असर देखिनुको कारण पनि सम्भवतः यही हो।
त्यसैले ओन्टारियो र मिनेसोटामा लागेको डढेलोका कारण उत्तर पूर्वी क्यानडा र अमेरिकाका विभिन्न सहरहरूमा बाक्लो धुवाँको समस्या देखिएको छ।
न्युयोर्क, बोस्टन, वासिङ्टन डिसी र सिकागोका बासिन्दाहरू धुवाँ र तुवाँलोले भरिएको तथा कम भिजिबिलिटी भएको वातावरणमा बाहिर निस्कन बाध्य छन्। हावा निकै भारी महसुस भइरहेको छ र पैदलयात्रीहरूले हावामा मिसिएको धुवाँको स्वाद नै अनुभव गर्न सकिने बताएका छन्।
डढेलोको धुवाँमा मानव स्वास्थ्यका लागि हानिकारक कणहरू हुने भएकाले धेरै सहरहरूले मानिसहरूलाई कडा शारीरिक गतिविधि नगर्न र घरभित्रै बस्न आग्रह गरेका छन्।
विश्वव्यापी वायुको गुणस्तर मापन गर्ने कम्पनी ‘आईक्यूएयर’का अनुसार हाल डेट्रोइट, टोरन्टो र मिनियापोलिस विश्वमै सबैभन्दा खराब वायु गुणस्तर भएका सहरहरू बनेका छन्।















Discussion about this post