जनकपुरधाम/पुस ८ गते। जनकपुरधाममा पाँचौं संस्करणको अन्तर विद्यालय क्रिकेट प्रतियोगिता भोली (बुधबार) देखि सुरु हुने भएको छ। जनकपुरधामको बाह्रविघा मैदानमा जनकपुर स्पोर्ट्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो।
प्रतियोगिताको पूर्वसन्ध्यामा मंगलबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह र सफाइ कर्मचारी सिताराम मेस्तरले संयुक्त रूपमा प्रतियोगिताको ट्रफी अनावरण गरेका छन्। समाजका सबै वर्ग र पेशाप्रति सम्मान प्रकट गर्ने सन्देश व्यवहारमा उतार्ने उद्देश्यसहित कर्मचारी र जनप्रतिनिधिमार्फत ट्रफी अनावरण गराइएको राष्ट्रिय क्रिकेट खेलाडी हरिशंकर साहले जानकारी दिए।
उनका अनुसार प्रतियोगितामा जनकपुरधामसहित आसपासका क्षेत्रका २४ वटा विद्यालयका टिमहरू सहभागी हुनेछन्। प्रतियोगिताअन्तर्गत बुधबार उद्घाटन खेल मदर ट्रेसा माध्यमिक विद्यालय र याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय, ज्ञानकुपबीच हुने आयोजकले जनाएको छ।

गत वर्ष सम्पन्न चौथो संस्करणको अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि मदर ट्रेसा माध्यमिक विद्यालयले हात पारेको थियो। यस वर्ष पनि प्रतिस्पर्धा अझ रोचक र प्रतिस्पर्धात्मक हुने आयोजकको अपेक्षा छ।
खेल र खेलाडीको विकासका लागि स्थानीय स्तरमै प्रतिभा उत्पादन गर्ने उद्देश्यले हरेक वर्ष निरन्तर रूपमा प्रतियोगिता आयोजना गर्दै आएको आयोजक संस्थाका प्रतिनिधि प्रसान्त अरविन्दले बताए। उनले यस्ता प्रतियोगिताले विद्यालय तहदेखि नै खेलकुदप्रति रुचि बढाउनुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।














Discussion about this post