जनकपुरधाम/कार्तिक १९ गते। धनुषाका प्रमुख जिल्ला अधिकारीको अगुवाइमा भएको छलफल सहमतिमा टुंगिएपछि जनकपुरधामका व्यापारीहरूले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।
जिल्ला प्रशासन कार्यालय धनुषामा भएको छलफलमा प्रहरी प्रशासनका पदाधिकारी र जनकपुरधाम उद्योग वाणिज्य संघका प्रतिनिधिहरू सहभागी थिए ।
छलफलपछि दुवै पक्षबीच पाँच बुँदे सहमति भएको जनाइएको छ । सहमति अनुसार गत असोज ३१ गते जनकपुरधामको सोनरपट्टी बजारमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्ने, व्यापारीहरूको सुरक्षाको प्रत्याभूति दिलाउने, र बजार सञ्चालनका लागि सहज वातावरण सुनिश्चित गर्ने सहमति भएको छ ।

सहमति पश्चात् उद्योग वाणिज्य संघले प्रहरी दमनविरुद्ध आह्वान गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । आन्दोलन फिर्ता लिएसँगै जनकपुरधामको बजार व्यवसाय पुनः निर्वाध रूपमा सञ्चालनमा आउने भएको छ ।
धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाका आधारमा सोनरपट्टी बजार क्षेत्रमा छापा मारेको थियो । सो क्रममा एक पसलबाट करिब सात किलो चाँदी नियन्त्रणमा लिएपछि व्यापारीहरूले विरोध जनाएका थिए । व्यापारीहरूले प्रहरीले छापाको नाममा चाँदी लुटेको आरोप लगाएका थिए ।
विवाद तीव्र बन्दै जाँदा प्रहरीले बल प्रयोग गरेको थियो, जस क्रममा जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका थिए । उक्त घटनापछि व्यापारीहरूले दोषी प्रहरीमाथि कारबाही र निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन सुरु गरेका थिए ।













Discussion about this post