असोज ९ गते। नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीमा कार्यवाहक सभापति तोकेर अन्तरिम सरकारले घोषणा गरेको प्रतिनिधिसभाको निर्वाचन तयारीमा लाग्नुपर्ने बताएका छन् ।
नेता निधिले कार्यवाहक विधानअनुसार उपसभापति पूर्णबहादुर खड्कालाई दिनुपर्ने बताए । ‘सभापति शेरबहादुर देउवा हस्पिटलाइज्ड हुनुहुन्छ । उहाँले विधानअनुसार कार्यवाहक दिनुपर्छ र पार्टी घोषित निर्वाचनको तयारी गर्नुपर्छ,’ नेता निधिले रातोपाटीसँग भने, ‘विधानअनुसार कार्यवाहकको जिम्मेवारी पाउने उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पार्टी निर्वाचनको तयारीमा लाग्नुपर्छ ।’ निधिले बृहत् एकता कायम गर्ने उपयुक्त विकल्प कार्यवाहक सभापतिको जिम्मेवारी दिएर निर्वाचनमा होमिनु भएको बताए ।
मुलुक जटिल परिस्थितिमा रहेको वेलामा पार्टीमा विशेष महाधिवेशन गर्न नहुनेमा निधिले जोड दिए । ‘मुलुक जटिल परिस्थितिमा छ । यस्तो बेलामा पार्टीमा विशेष अधिवेशन गर्न हस्ताक्षर सङ्कलन गर्नु उपयुक्त होइन । यसले पार्टीलाई एकताबद्ध राख्न सक्दैन । फ्याक्सन ल्याउँछ,’ निधिले भने । पार्टीका केही नेताले उठाएको प्रतिनिधिसभा पुनःस्थापना पनि अहिलेको अवस्थामा उपयुक्त नभएको निधि बताउँछन् ।
उनी भन्छन्, ‘विघटन अघि प्रतिनिधिसभामा दुई ठुला दल कांग्रेस र एमालेको सरकार थियो । त्यो सरकारले जनपक्षीय काम गर्न सकेको थिएन । त्यसैले नयाँ जनमतमा जानुपर्छ । पार्टी एकताबद्ध भएर निर्वाचनमा होमिनुपर्छ ।’ कांग्रेसमा महामन्त्री गगन थापा समूहले विशेष महाधिवेशनको लागि हस्ताक्षर सङ्कलन गरिरहेको छ भने संस्थापन विशेष महाधिवेशन गर्न नहुने पक्षमा छ । यस्तो अवस्थामा नेता निधिले कार्यवाहक सभापति बनाएर पार्टी निर्वाचनमा होमिनुपर्ने बताएका हुन् ।














Discussion about this post