कार्तिक ७ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वमा बदलिँदो भूराजनीतिक परिस्थितिको प्रभाव नेपालमा बढी परेको बताएका छन्।
पार्टीको दुई महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गर्दै प्रचण्डले अन्तर्राष्ट्रिय राजनीतिमा भइरहेको परिवर्तन र भूराजनीतिक चलखेलका कारण नेपाल असहज परिस्थितिबाट गुज्रिरहेको बताएका हुन्।
उनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र त्यसले नेपालमा पारिरहेको प्रभावलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए। देशको राजनीतिक अवस्था, राष्ट्रिय स्वाधीनता र जनताको अधिकारको संरक्षणका लागि राजनीतिक दलहरू थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो।
प्रचण्डले विगतका राजनीतिक परिवर्तन तथा उत्पीडित समुदायको अधिकार प्राप्तिका लागि आफ्नो पार्टीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै वर्तमान परिस्थितिमा पार्टी अझ गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने धारणा राखे।
उनका अनुसार नेपालको सार्वभौमिकता र जनताले प्राप्त गरेका अधिकारको संरक्षणका लागि पार्टी संवेदनशील भएर अघि बढ्न आवश्यक छ। बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा राष्ट्रिय हितलाई केन्द्रमा राख्दै जनताको अधिकार र देशको स्वाधीनताको रक्षा गर्नु प्रमुख प्राथमिकता हुनुपर्ने उनले बताए।
नेकपाले सञ्चालन गर्न लागेको दुई महिने राष्ट्रिय जागरण अभियानमार्फत पार्टीलाई थप जिम्मेवार बनाउने तथा वर्तमान राजनीतिक परिस्थितिमा आफ्नो भूमिका प्रभावकारी बनाउने सन्देश प्रचण्डले दिएका छन्।
















Discussion about this post