कार्तिक ८ गते । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने एनपिएलको विजेताले १ करोड ५० लाख पाउने, पुरस्कार राशि ४० लाखले बढ्योभएको छ। गत संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँले वृद्धि गरिएको हो।
कीर्तिपुरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशिबारे जानकारी दिइएको हो। घोषित पुरस्कारअनुसार उपविजेता टोलीले ८० लाख रुपैयाँ प्राप्त गर्नेछ भने तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ पाउनेछन्। यसरी शीर्ष चार टोलीलाई पुरस्कार प्रदान गर्न कुल ३ करोड रुपैयाँ खर्च हुनेछ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधि जित्दै १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो। फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी च्याम्पियन बनेको थियो। यसपटक विजेताको पुरस्कार राशि बढाइएसँगै प्रतियोगिताप्रति खेलाडी र समर्थकको आकर्षण थप बढ्ने अपेक्षा गरिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबारदेखि सुरु हुने तेस्रो संस्करणको एनपिएलमा यसपटक केही महत्त्वपूर्ण परिवर्तनसमेत गरिएको छ। प्रतियोगितामा अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल, दक्षिण अफ्रिकाका डेभिड मिलर र बंगलादेशका शाकिब अल हसनजस्ता विश्वचर्चित खेलाडीको सहभागिताले प्रतियोगिताको चर्चा बढाएको छ।
यस संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को आधिकारिक मान्यता, निर्णय पुनरावलोकन प्रणाली (डीआरएस) प्रविधि, विदेशी खेलाडी अनुबन्धमा थप सहजता तथा कीर्तिपुरस्थित मैदानका सुविधामा गरिएको सुधारलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।
प्रतियोगितामा आठ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। पुरस्कार राशिमा वृद्धि, अन्तर्राष्ट्रिय स्तरका खेलाडीको सहभागिता र प्रविधिको प्रयोगले एनपिएलको प्रतिस्पर्धात्मक स्तर थप उकास्ने अपेक्षा गरिएको छ।
प्रतियोगिता नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ। नेपाली क्रिकेटको व्यावसायिक विकास, खेलाडीको क्षमता अभिवृद्धि र घरेलु क्रिकेटलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउन एनपिएललाई महत्त्वपूर्ण प्रतियोगिताका रूपमा लिइँदै आएको छ।
















Discussion about this post