जनकपुरधाम/कार्तिक ८ गते । धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेका छन्। जिल्लाको गणेशमान चारनाथ नगरपालिका ४, भरतपुर बस्ने ३५ वर्षीय उमेश यादवले ससुरालीमा गएर धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार उमेश गएराति करिब ९ बजे ससुराली पुगेका थिए। त्यसपछि बिहान करिब २ बजेतिर उनले सँगै सुतेकी श्रीमती र चार वर्षीय छोरा सम्राट यादवमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भिक विवरण छ।
घटनामा घाइते भएका बालकको दाहिने तिघ्रामा काटिएको चोट लागेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धनुषाधामबाट खटिएको प्रहरी टोलीले बालकलाई उद्धार गरी स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको थियो।
घटनास्थलबाट प्रहरीले रगत लागेको चक्कुसमेत बरामद गरेको छ। घटनापछि फरार रहेका उमेशको खोजी गर्ने क्रममा घटनास्थलबाट करिब एक किलोमिटर पश्चिम मिथिला बिहारी नगरपालिका–२ स्थित सिर्सिया जाने बाटोको दक्षिणपट्टि आँपको रुखमा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
















Discussion about this post