जनकपुरधाम/असोज ३ गते। नेकपा एमालेका सचिव रघुवीर महासेठले हालै सम्पन्न जेनजी आन्दोलन हिंसात्मक मोड लिने क्रममा देशी तथा विदेशी शक्तिहरूको षड्यन्त्र रहेको आरोप लगाएका छन् ।
गृहनगर जनकपुरधाममा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटमा जेनजी युवाहरू प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारे । “जेनजी युवाहरूले भ्रष्टाचार अन्त्य, सुशासन कायम गर्ने, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनेजस्ता जायज माग राखेका थिए । तर उनीहरूको उद्देश्य सत्ता परिवर्तन, नेताको घर जलाउने वा निजी सम्पत्ति तोडफोड गर्ने थिएन,” महासेठले भने ।
उनका अनुसार योजनाबद्ध ढंगले लोकतन्त्र समाप्त पार्ने नियतले आन्दोलनलाई हिंसात्मक बनाइएको हो । उनले सार्प शुटरमार्फत युवाहरूको हत्या गराइएको गम्भीर आरोपसमेत लगाउँदै घटनामा संलग्न शक्तिहरूको पहिचान गर्न अन्तरिम सरकारसँग माग गरे । “कुन–कुन शक्ति यो षड्यन्त्रमा सामेल छन् भन्ने बारेमा गम्भीर छानबिन होस् र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्,” महासेठको भनाइ थियो ।
महासेठले एमाले र नेपाली कांग्रेसका नेताहरूको घर लक्षित गरी जलाइएको घटनालाई व्यक्तिगत रिसिइवीसँग पनि जोडिएको बताए । उनले आन्दोलनप्रति सहानुभूति व्यक्त गर्दै वास्तविक दोषी पहिचान गरी न्याय दिलाउन सरकारलाई आग्रह गरे ।













Discussion about this post