जनकपुरधाम/साउन २० गते। धनुषाको नगराईन नगरपालिकामा मेयर र उपमेयरबीचको लामो समयदेखि चलिरहेको विवाद फेरि चुलिँदा नगरपालिकाको सम्पूर्ण प्रशासनिक तथा आर्थिक कामकाज ठप्प भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म पनि नगरसभाको आयोजना हुन नसक्दा विकासे कार्यक्रमदेखि सेवा प्रवाहसमेत अवरुद्ध भएको छ।
नगरपालिकाकी उपमेयर राधा देवी यादवले मङ्गलवार पत्रकार सम्मेलन गर्दै कांग्रेसबाट निर्वाचित मेयर विनयकुमार यादवमाथि गम्भीर आरोप लगाइन्। उनले मेयर यादवले आफ्ना निहित स्वार्थका लागि बहुमत कार्यपालिका सदस्यहरूको अवमूल्यन गर्दै नगरपालिका सञ्चालनमा मनोमानी गरेको आरोप लगाएकी हुन्।
उनको भनाइ अनुसार, मेयरले उपमेयरसहित अन्य निर्वाचित प्रतिनिधिहरूको अधिकारमा हस्तक्षेप गर्दै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ कार्यान्वयनमा अडचन सिर्जना गरेका छन्। साथै, विगतमा विवाद समाधानका लागि भएको सर्वपक्षीय सहमतिलाई समेत बेवास्ता गरिएको उनले दाबी गरिन्।
पत्रकार सम्मेलनमा नगराईन नगरपालिकाका उपमेयर राधादेवी यादव,वडा नम्बर ५ का वडाध्यक्ष रामनारायण मुखिया, वडा नम्बर ६ का वडाध्यक्ष ललित साह, वडा नम्बर ८ का वडाध्यक्ष संजय राउत, वडा नम्बर ९ का वडाध्यक्ष प्रमोदकुमार राउत तथा एमालेबाट निर्वाचित आठ जना कार्यपालिका सदस्यहरूले पनि पनि कार्यविधि संशोधन सहित प्रमुख प्रशासकीय अधिकृत रामगुलाम कर्णलाई हटाउने माग गरे । उनीहरूले स्थानीय सरकार सञ्चालन ऐन, २०७६ खारेज गरी २०७४ सालको ऐन कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्दै नगरपालिका सञ्चालनमा अवरोध सिर्जना गरिरहेका छन्। यही कारण नीतिगत निर्णयहरू गर्नुपर्ने नगरसभा समेत अनिश्चित बन्दै गएको छ।
यसबीच, मेयर विनय यादवले भने उपमेयर र उनको समूहले नगरपालिका बन्धक बनाउँदै आएको आरोप लगाएका छन्। “विगतमा करिब नौ महिना पालिका ठप्प पारेर उनीहरूले जनतालाई सेवा दिन रोके, अहिले पनि त्यही शैली दोहोर्याउन खोजिएको छ,” मेयर यादवले बताए। उनले बजेट सञ्चालनसम्बन्धी कार्यविधि संशोधनबाहेक अन्य विषयमा सहमति गर्न आफू तयार रहेको स्पष्ट पारे। तर, मंगलवारका लागि तय गरिएको कार्यपालिका बैठक एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू अनुपस्थित भएपछि स्थगित गरिएको छ। राजनीतिक रस्साकस्सीका कारण स्थानीय सरकारको महत्वपूर्ण तहमा नीति निर्माणदेखि विकास बजेट खर्च गर्नसम्मको सम्पूर्ण प्रक्रिया अलपत्र परेको छ।













Discussion about this post