जनकपुरधाम/असार २३ गते। मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ। प्रतियोगिता आयोजक संस्था दि हिडेन ट्रेजर ले आफ्नो ३०औं वार्षिकोत्सवको अवसर पारेर यस संस्करणलाई झन भव्य र व्यवस्थित बनाउन विशेष तयारी गरिएको जनाएको छ।
जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा आयोजक प्रतिनिधि राजभाई सुवाल ले मिस नेपाल २०२५ मा १८ देखि २७ वर्ष उमेर समूहका देश तथा विदेशमा रहेका नेपाली युवतीलाई सहभागी हुन आग्रह गरे। सहभागी बन्ने युवतीको न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्नेछ भने आवेदन निःशुल्क हुनेछ। आवेदन दिने अन्तिम म्याद असार २६ गते सम्म रहेको छ।
अन्तिम अडिसन असार २८ गते काठमाडौंमा हुनेछ। छनोटमा परेका प्रतियोगीहरूले विशेष तथा ग्रामीण प्रशिक्षण प्राप्त गर्नेछन्। मिस नेपाल २०२५ को फिनाले कार्यक्रम भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना गरिनेछ।प्रतियोगिताबाट मिस नेपाल वल्र्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र पहिलो पटक मिस नेपाल कोस्मो गरी चार जना विजेता चुनिनेछ । पहिलो पटक मिस कोस्मो इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
देशभरबाट योग्य प्रतिस्पर्धीको खोजी गर्नका लागि विर्तामोड, जनकपुरधाम, नेपालगञ्ज लगायत विभिन्न सहरहरूमा अडिसन र प्रचार अभियान सञ्चालन भइरहेका छन्। साथै, काठमाडौंका १० वटा कलेजमा ‘मिस नेपाल एक्टिभेसन क्याम्पेन’ पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।
मिस नेपाल प्रतियोगिता नेपाली युवतीहरूको आत्मविश्वास, प्रतिभा र व्यक्तित्व विकासको सशक्त माध्यम बनेको आयोजकले बताए। यस वर्षको संस्करणमा सहभागिता जनाउन इच्छुक युवतीहरूलाई समयमै आवेदन दिन आयोजकले आह्वान गरेको छ।













Discussion about this post