जनकपुरधाम/असार १३ गते । जनकपुरधामको प्रमुख पर्यटकीय स्थल मध्येका महागंगा आरती स्थल गंगा सागर पोखरीको डिलमा जडान भई संचालनको अन्तिम प्रक्रियामा रहेको शुद्ध खानेपानीका डिप ट्यूबेलको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले निरिक्षण गरेका छन् ।
बिहीवार दिउंसो मन्त्रालयका सचिव रामकुमार खंग सहित महाशाखाका कर्मचारीहरुसँगै योजनाहरुको अवस्था बुझ्न निरिक्षणको क्रममा गंगा सागर पोखरीको डिलमा जडान भई संचालनको अन्तिम अवस्थामा रहेका सो खानेपानी डिप ट्यूबेलको निरिक्षण गरेका हुन् ।
जनकपुरधामको पर्यटकीय स्थलको रुपमा रहेका गंगा सागर पोखरी र महागगा आरती हेर्न आउने श्रद्धालुहरुलाई खानेपानीको आभाव रहेको महसूस गर्दै मन्त्री यादवको सक्रियतामा सो पोखरीको डिलमा जडान भइरहेको छ ।
ट्यूबेल जडान भइसकेको छ । खानेपानी ट्याँकी र टयाँकी राख्ने घर तथा धारा निर्माण लगायतका काम बाँकी रहेको छ । ती कामहरु यथाशिघ्र सम्पन्न गरी ट्यूबेल संचालनमा ल्याउन मन्त्री यादवले कर्मचारीहरुलाई निर्देशन दिए ।
उनले भने यहाँ दैनिक सयौं पर्यटक आउंछ तिनीहरुलाई खानेपानीको समस्या नहोस उद्देश्यका साथ यो खानेपानी डिप ट्यूबेल जडान गरिएको हो । पहिला यहाँ खुल्ला बोरिँग एउटा थियो तर त्यो खराब भएपछि यहाँ आउने श्रद्धालुहरुलाई निकै समस्या हुन थालेपछि ट्यूबेल जडान गराइदैछ । तर पानी खेर नजाओस त्यसका लागि धारा समेतको व्यवस्था गरिएको बताए ।
यसअघि निर्माण हुन लागेको विद्युतिय शवदाह गृहको निर्माण स्थल जग्गा र मुख्यमन्त्री सहित मन्त्रीहरुको सुरक्षा दिने मधेश प्रदेश प्रहरी गणका लागि शुद्ध खानेपानी डिप ट्यूबेल जडानका लागि जग्गाको निरिक्षण गरेका थिए ।




















Discussion about this post