गिरिजानन्द/जनकपुरधाम/असार १ गते। मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालय अन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको आयोजनामा “चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डको संस्थागत विकास सम्बन्धी सम्वाद कार्यक्रम” सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सरकारका प्रवक्ता एवम् गृह, सञ्चार तथा कानुन मन्त्री माननीय राजकुमार लेखीले मधेश प्रदेशको लोपोन्मुख लोककला, संस्कृति तथा सम्पदालाई जगेर्ना गर्न कलाकर्मी समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन्।
उहाँले शुभकामना मन्तव्यका क्रममा भन्नुभयो, “लोक-सांस्कृतिक दृष्टिकोणले धनी हाम्रो मधेश प्रदेशका लोप हुन लागेका कला–संस्कृतिलाई जोगाउन कलाकर्मीहरू सक्रिय हुन जरुरी छ। यस कार्यक्रममा कलाकारहरूले प्रस्तुत गरेको कलासिर्जनाबाट मेरो धारणा नै परिवर्तन भएको छ। राजनीतिकर्मी, सञ्चारकर्मी, युवा र विद्यार्थीहरू जत्तिकै समाज रूपान्तरणमा कलाकर्मीहरूको पनि प्रभावशाली भूमिका हुन्छ।”
स्रोत तथा साधन सीमित भए पनि परिणाममुखी काम गर्ने संस्थालाई मन्त्रालयले आवश्यक सहयोग गर्ने स्पष्ट गर्दै मन्त्री लेखीले थपे, “मन्त्रालय मातहतका निकायलाई समयसापेक्ष सानो बजेट छुट्याइए तापनि तपाईंहरूको कार्यसम्पादन हेरेर स्रोत-साधनको व्यवस्था गर्न प्रतिबद्ध छु। निराश नहुनुहोस्।”
कार्यक्रमको अध्यक्षता चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डका अध्यक्ष किशोर कुमार लेखीले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न कलाकार, सञ्चारकर्मी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Discussion about this post