जेठ १७ गते। मधेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजना शिलान्यासको तयारी पूरा
मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत सञ्चालनमा आउन लागेको ‘एक निर्वाचन क्षेत्र, एक कालोपत्रे सडक’ योजनाको शिलान्यासको सम्पूर्ण तयारी पूरा भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १८ गते (आईतबार) जनकपुरधामबाट उक्त योजनाको डिजिटल शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
मधेश प्रदेशका ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा पाँच–पाँच किलोमिटरका दरले कुल ३२० किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।
योजनाअनुसार, ग्रामीण क्षेत्रलाई शहरी केन्द्रसँग जोड्ने र स्थानीय विकासमा योगदान पुर्याउने लक्ष्य लिइएको छ।
शिलान्यास कार्यक्रम जनकपुरधामस्थित महेन्द्रनारायण निधि सभागृहमा आयोजना हुने भौतिक पूर्वाधार विकास मन्त्री सरोज यादवले जानकारी दिए। “यो मन्त्रालयको मात्रै होइन, सम्पूर्ण मधेश प्रदेशबासीको योजना हो,” मन्त्री यादवले भने, “यसले जनतालाई प्रत्यक्ष लाभ पुर्याउने भएकाले सन्देशमूलक बनाउन जरुरी छ।”उनका अनुसार सडक निर्माणबाट कृषि उत्पादन बजारसम्म पुर्याउन सजिलो हुने, आपतकालीन सेवा सहज हुने, रोजगारी सिर्जना हुने, व्यापार, पर्यटन तथा स्थानीय उद्योगधन्दा प्रवर्द्धनमा समेत मद्दत पुग्ने विश्वास गरिएको छ।
मन्त्रालयले शिलान्यास कार्यक्रमलाई ऐतिहासिक र सन्देशमूलक बनाउने तयारी गरेको जनाएको छ। मन्त्री यादवले यस्ता योजनालाई निरन्तरता दिनुपर्नेमा पनि जोड दिए।




















Discussion about this post