गिरिजानन्द साह/जनकपुरधाम/चैत २० गते। ‘मर्यादित सहकारी, समुन्नत समाज’ नाराका साथ बुधबार जनकपुरधाममा राष्ट्रिय सहकारी दिवस २०८१ उत्साहपूर्वक मनाइएको छ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेशको आयोजनामा प्रभातफेरि तथा रक्तदान कार्यक्रम गरिँदै सहकारीको महत्वलाई अझ मजबुत बनाउने प्रयास गरिएको छ। राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा विभिन्न सहकारी संस्थाका सदस्यहरू, युवा, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूले उत्साहपूर्वक भाग लिए। साथै, प्रभातफेरिमा सहकारीको महत्व दर्शाउने नाराहरू सहित सहभागीहरूले जनचेतना जगाउने प्रयास गरेका थिए।
कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्रीले मधेश प्रदेशमा कृषिलाई प्रविधिमैत्री बनाउन सके सम्पूर्ण नेपाललाई पुग्ने गरी अन्न उत्पादन गर्न सकिने उल्लेख गरे। उनले कृषिमा सहकारीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको भन्दै सहकारी अभियानलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे।
मन्त्री क्षेत्रीले समाजको उत्थान र सामाजिक परिवर्तनमा सहकारी संस्थाहरूले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे। गाउँघरका किसानहरूको आर्थिक सशक्तीकरणमा सहकारी प्रणालीले खेलेको भूमिकालाई उनले विशेष रूपमा धन्यवाद दिए। उनले सहकारीको माध्यमबाट कृषकहरूको जीवनस्तर सुधार हुँदै गएको र आर्थिक आत्मनिर्भरता बढ्दै गएको बताए। सहकारी क्षेत्रमा पुरुषभन्दा महिलाहरूको बढी सहभागिता रहेको तथ्यांक प्रस्तुत गर्दै मन्त्री क्षेत्रीले महिलाहरूको भूमिकालाई अत्यन्त सराहनीय बताए। उनले महिलाहरूको सक्रियताले सहकारी अभियानलाई अझ मजबुत बनाएको र आर्थिक रूपमा महिलाहरूलाई आत्मनिर्भर बनाएको धारणा राखे।
यस अवसरमा विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरू, किसान, महिला समूह तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई सफल बनाउन सहकारी संस्थाहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। राष्ट्रिय सहकारी दिवस २०८१ ले सहकारी अभियानलाई अझ मजबुत बनाउने र समाजलाई आर्थिक रूपमा सबल बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।
Discussion about this post