गिरिजानन्द साह/जनकपुरधाम/ चैत ९ गते। महावीर युवा कमिटिको नयाँ कार्यसमितिको सपथ ग्रहण समारोह आज भव्य रूपमा सम्पन्न भएको छ। समारोहमा कमिटिका नवनिर्वाचित पदाधिकारीहरूले आफ्नो पदको गरिमा, जिम्मेवारी र कर्तव्यलाई इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिज्ञासहित सपथ ग्रहण गरेका छन्।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पुर्व गृह तथा उपप्रधान मंत्री माननीय विमलेन्द्र निधिले गरेका थिए। उनले युवा नै समाज परिवर्तनको मूल आधार भएकाले उनीहरूलाई नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय बनाउन यस्ता संस्थाहरूको महत्वपूर्ण भूमिका रहने बताए। साथै विमलेन्द्र निधिले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफ्नो सीमा बुझ्न चेतावनी दिएका छन्। पछिल्लो समय पूर्वराजा र राजावादीहरूको सक्रियता बढेको भन्दै उनले नेपालमा अब राजतन्त्र फर्किन नसक्ने दाबी गरे।‘नेपालमा राजतन्त्र र राणाशाही फर्किन सम्भव छैन,’ उनले भने, ‘राजा अपदस्त मात्र होइन, अस्वीकृत भइसकेका छन्।’
समारोहमा निवर्तमान अध्यक्ष अजय कुमार गुप्ताले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै विगतका उपलब्धिहरूलाई थप सशक्त बनाउन सुझाव दिए। त्यसैगरी, नवनिर्वाचित अध्यक्ष दिपक कुमार साह (मिन्टु) ले युवा समाजसेवाका माध्यमबाट देश र समाजको समुन्नतिको लागि समर्पित हुने प्रतिबद्धता व्यक्त गरे।
सपथ ग्रहण कार्यक्रमका अवसरमा विभिन्न अतिथि वक्ताहरूले महावीर युवा कमिटिले अघिल्लो कार्यकालमा गरेका गतिविधिहरूको चर्चा गर्दै आगामी दिनमा अझ प्रभावकारी योजना ल्याउनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा अभिवादन कार्यक्रमसमेत समावेश गरिएको थियो। समारोहमा महावीर युवा कमिटिका सदस्यहरु,कमिटिका पुर्व अध्यक्षहरु,स्थानिय जनप्रतिनिधि, समाजसेवी,पत्रकार, युवा अभियन्ताहरू तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहको अन्त्यमा धन्यवाद ज्ञापन गर्दै महासचिवले उपस्थित सम्पूर्ण अतिथि, शुभचिन्तक तथा सदस्यहरूलाई आभार प्रकट गरे। महावीर युवा कमिटिको यो नयाँ कार्यसमिति आगामी कार्यकालभरि सामाजिक कार्यमा समर्पित रहने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरिएको थियो।



















Discussion about this post