गिरिजानन्द साह/जनकपुरधाम/चैत्र ७ गते। जनकपुरधाममा राजर्षि जनक क्याम्पस टि-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। राजर्षि जनक क्याम्पसको आयोजनामा तथा जिल्ला क्रिकेट संघ धनुषाको संयोजन एवं जनकपुर पेस फाउण्डेशनको सहयोगमा प्रतियोगिता सञ्चालन गरिनेछ।
प्रतियोगिता चैत्र ९ गतेदेखि १३ गतेसम्म जनकपुरधामको रामजानकी बहुउद्देश्यीय रङ्गशालामा हुनेछ। प्रतियोगितामा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थीहरूले भाग लिन सक्नेछन्। प्रतियोगिता लीग फरमेटमा खेलाइनेछ।
नेपाल क्रिकेट संघ धनुषाका जिल्ला सचिव आशिष झाले जनाए अनुसार प्रतियोगितामा जनकपुरधामको विभिन्न कलेजका विद्यार्थीहरू सहभागी हुनेछन्। सहभागी टिमहरूमा राजर्षि जनक क्याम्पस, गुगल प्रसाद बसहीया, राराव क्याम्पस, जनकपुर कम्युनिटी कलेज, मिट क्याम्पस तथा मोनाष्टिक कलेजका विद्यार्थीहरू रहनेछन्।
करिब ९ लाख रुपैयाँको लागतमा आयोजना हुने प्रतियोगितामा विजयी टिमलाई मेडल, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिनेछ। आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य युवाहरूलाई लागु पदार्थको बढ्दो प्रभावबाट जोगाउनुका साथै उनीहरूको शारीरिक तथा मानसिक विकास गर्नु हो।
क्रिकेटप्रेमीहरूका लागि यो प्रतियोगिता ठूलो अवसर हुने अपेक्षा गरिएको छ।
Discussion about this post