गिरिजानन्द साह/जनकपुरधाम/फागुन २४ गते। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारको निजी लगानीमा सो वडाका युवाहरूलाई लक्षित गरी निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिने भएको छ।
सूचना प्रविधिको विकाससँगै डिजिटल साक्षरता आवश्यक रहेको भन्दै वडाध्यक्ष पजियारले आफ्नै पहलमा उक्त कक्षा सञ्चालन गर्न लागेका हुन्। वडाका युवाहरूलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले कम्प्युटर सिकाइने कार्यक्रम अघि बढाइएको उनले जानकारी दिए।
उनका अनुसार ३ महिने तथा ६ महिने कम्प्युटर तालिम उपलब्ध गराउने घोषणा गरेका छन्। यस कक्षामा वडाभित्रका इच्छुक विद्यार्थी तथा बेरोजगार युवाहरूले विशेष प्राथमिकता पाउने छन्। “सूचना प्रविधिको युगमा युवाहरूलाई डिजिटल साक्षरता आवश्यक छ। रोजगारीका अवसरहरू बढाउन र सीपयुक्त बनाउने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो,” पजियारले भने।
कम्प्युटर कक्षा सञ्चालनका लागि आवश्यक उपकरण तथा प्रशिक्षकको व्यवस्था गरिसकिएको छ। यस कार्यक्रमले वडाका युवाहरूलाई प्रविधिमा दक्ष बनाउँदै रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। यो तालिम १४ देखि ३५ वर्षसम्मका कम्तीमा कक्षा ९ उतीर्ण युवाहरुका लागि सञ्चालन गरिनेछ। इच्छुक युवाहरुका लागि चैत १२ सम्म दर्ता खुला गरिएको छ।
वडास्तरीय निःशुल्क कम्प्युटर कक्षाको उद्घाटन नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले गरेका हुन्। उनले प्रविधिमैत्री युवाहरु देशको आर्थिक, सामाजिक र व्यक्तिगत विकासका लागि महत्वपूर्ण हुने उल्लेख गरे। कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, राष्ट्रिय मुक्ति पार्टीका संजय चौधरी, कपिलेश्वरनाथ युवा कमिटीका अध्यक्ष मनोज साह लगायत वडाबासीहरुको उपस्थिति रहेको थियो।

















Discussion about this post