गिरिजानन्द साह/फागुन १९ गते। होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियान यस वर्ष मधेश प्रदेशको राजधानी जनकपुरधामबाट शुभारम्भ गरिएको छ । देशका प्रमुख शहरहरुमा गएर पोखरामा पर्यटक निम्त्याउन गरिने यो अभियानले पोखरामा आन्तरिक पर्यटन आवागमनलाई बढवा दिने विश्वास लिइएको छ । शुभारम्भ कार्यक्रमा बोल्दै जनकपुरका पर्यटन व्यवसायीले जनकपुर आउने पर्यटकलाई पोखरा पुर्याउने र पोखरा आएका पर्यटकहरुलाई मधेश ल्याउने गरी सहकार्य गर्नु पर्ने धारणा राखेका थिए ।
सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे ।

आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे ।
मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए ।
होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दु:खद पक्ष भएको बताए ।
जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे ।
बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए ।
नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे ।
नेपाल पत्रकार महासंघ धनुषाका सभापती पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए । ब्यबसायी बीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बिच धार्मिक र पर्यटनका हिसाबले धेरै समानता रहेको बताउँदै आपसी सहकार्यका लागि आव्हान गरे ।
कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बिचका रहेका छन् । आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन् । जनकपुरबाट सुरुभयको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विर्तामोड, इटहरी, बर्दिबास र हेटौंडामा पनि हुनेछ । दोश्रो चरणमा पश्चिम नेपालका प्रमुख शहरमा यो अभियान संचालन गरिने छ । त्यस्तै छिमेकी राष्ट्र भारतका सिमावर्ती शहरमा चलिय पोखरा र चिनका शहरमा चाउला पोखरा संचालन गरिने छ ।
अभियान मार्फत पोखरा आउने पर्यटकहरुलाइ विभिन्न खालका छुटका प्याकेज पनि पाउने छन् । यो अभियान लगत्तै नयाँ वर्षको अवसरमा होटल संघ गण्डकीले फेवा नववर्ष महोत्सव आयोजना गर्ने छ । हाल पोखरामा एकहजार दुई सय भन्दा बढि होटल संचालनमा छन् भने त्यसबाट दैनीक ५० हजार बढी पर्यटकलाई राख्ने क्षमता राख्छ ।

















Discussion about this post