जनकपुरधाम/फागुन २ गते। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामस्थित थप पाँच निजी अस्पतालमा शुक्रबार साँझ अनुगमन गरेका छन् । स्वास्थ्य तथा जनसँख्या मन्त्री शत्रुधनप्रसाद सिँहसहित ती अस्पतालमा पुगेका मुख्यमन्त्री सिँहले स्वास्थ्य सेवा सञ्चालन अनुमति प्राप्त गरेका तर नवीकरण नगराएको ५० बेडको भानुचोकस्थित जनकपुर सिटी हस्पिटललाई त्यहाँ कार्यरत कर्मचारीलाई दिइने तलब विवरण, कानुनअनुसार गरीब, दलित तथा सीमान्तकृतलाई छुट दिएको विवरण लिएर आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन सञ्चालकलाई निर्देशन दिएका छन् ।
अनुगमनको क्रममा रेल्वे स्टेसनस्थित धनुषा अस्पतालको नवीकरण नभएको पाइएको छ । मुख्यमन्त्री सिँहले त्यहाँ कार्यरत कर्मचारीको तलबसम्बन्धी विवरण तथा गरीब, दलित र सीमान्तकृतलाई दिइएको छुट विवरण लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आउन सञ्चालकलाई भनेका छन् ।अस्पताल सञ्चालन अनुमतिसम्बन्धी कुनै पनि कागजपत्र फेला नपरेको कदमचोकस्थित न्युरो सेन्टरलाई कागजपत्र लिएर आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मुख्यमन्त्री सिँहले निर्देशन दिएका छन् । यसैगरी कदमचोकस्थित विनयतारा फाउन्डेसन क्यान्सर अस्पताललाई समेत स्वास्थ्य सेवा सञ्चालन अनुमतिसम्बन्धी कागजपत्र लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार आउन भनिएको छ । अनुगमनमा मुरलीचोकस्थित जनकपुर न्युरो अस्पताल भने दर्ता रहेको र तुलनात्मक रूपमा व्यवस्थित रहेको पाइएको छ । यसअघि मुख्यमन्त्री सिँहले जनकपुरधामका २६ वटा निजी अस्पतालको अनुगमन गरिसकेका छन् ।
Discussion about this post