माघ २५ गते। जनकपुर साहित्य महोत्सवको छैठौं संस्करण आजदेखि सुरु भएको छ। नव मिथिला फाउण्डेशनको आयोजनामा धरातल, संस्कृती र संस्कारको उत्सव नाराका साथ स्थानीय राम मन्दिर पार्कमा सुरु भएको महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरेका हुन्।
जनकपुरधामको राम मन्दिरमा रहेको राम पार्कमा शुरु भएको जनकपुर साहित्य महोत्सव शनिवार सम्म चल्ने छ । महोत्सव उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्ता गतिविधिले प्रदेशको कला संस्कृतिको विकास, प्रवर्द्धन एवं आर्थिक विकासमा टेवा पुग्ने बताए। कला, संस्कृति पहिचानसँग जोडिएका विषयमा प्रदेश सरकार सधैँ गम्भीर रहने उनले बताए।
कार्यक्रममा यस वर्षको प्रतिष्ठित ‘अमित झा साहित्य संगीत पुरस्कार’ स्वर्गीय शास्त्रीय संगीतकार गुरुदेव कामतको परिवारलाई प्रदान गरिएको छ। कार्यक्रममा स्व. कामतकी श्रीमती सगुनवतीदेवी कामतलाई मुख्यमन्त्री सिंह र स्व. अमित झाका बुबा रामनारायण झाको हातबाट एक लाख पाँच हजार रुपैयाँ राशीको पुरस्कार हस्तान्तरण गरिएको थियो।
शास्त्रीय संगीतमा भारतबाट स्नातक गरी नेपाली तथा मैथिली गीत संगीतमा महत्त्वपूर्ण योगदान दिएका गुरुदेव कामतलाई प्रबल जनसेवा श्री पुरस्कारबाट पनि सम्मान गरिएको छ। कामत गत साउनमा दिवंगत भएका थिए। सो सम्मान कामतकी श्रीमतीलाई प्रदान गरिएको छ। यस्तै, क्यान्सर रोगबाट पीडित संगीतकार अशोक दत्तलाई ५१ हजार रुपैयाँको आर्थिक सहयोग पनि प्रदान गरिएको छ।
नव मिथिला फाउन्डेसनका अध्यक्ष अमित कुमार साहको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेश प्रदेश सभाका सदस्यहरु दिपेन्द्र ठाकुर, रामसरोज यादव, रामअशिष यादव, वीरगञ्ज स्थित महावाणिज्य दूतावासका बाणिज्यदूत देवी सहाय मिना, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह, मिथिला नाट्य कला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, मैथिली साहित्य परिषद्का अध्यक्ष जीवनाथ चौधरी सहितका वक्ताहरूले सम्बोधन गरे ।
महोत्सवमा विभिन्न विषयहरूमा संवाद, बहस, अन्तरक्रिया जस्ता कार्यक्रमहरू रहेको छ । यसका साथै सांस्कृतिक कार्यक्रमहरूको प्रस्तुति रहेको छ । महोत्सवको तीन दिनमा विभिन्न १७ वटा शीर्षकमा छलफल हुने छ ।
Discussion about this post