माघ २२ गते। ‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण माघ २४ गतेदेखि शुरू हुने भएको छ। नवमिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुने ‘जनकपुर साहित्य महोत्सव’ को छैटौँ संस्करण माघ २४ गतेदेखि २६ गतेसम्म जनकपुरको राम मन्दिर पार्कमा आयोजना हुने भएको हो।
जनकपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो। महोत्सवको उद्घाटन माघ २४ गते दिउँसो दुई बजेदेखि राम मन्दिरको पार्कमा हुने आयोजक संस्थाका अध्यक्ष अमित साहले बताए।
उनका अनुसार तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, भूराजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १७ वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने छ।

यस वर्षको महोत्सवमा ‘जनकपुरधामका चुनौती र अवसरहरु’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट समस्या, समाधान र सम्भावना’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’, ‘नीतिमा युवाको चासो’, ‘संघीय दृष्टिमा मधेश’ लगायतका १७ वटा शीर्षकमा बसह हुने आयोजकले जनाएको छ।महोत्सवमा १४ वटा प्यानल डिस्कसन र ३ वटा एकल प्रवचन समेटिएको आयोजकको भनाइ छ।
‘सियाराम राज्यको परिकल्पनाः साहित्य र अर्थराजनीति’ सेशनमा वक्ताको रुपमा राजनीतिक विश्लेषक सिके लाल रहेका छन्। यस्तै, ‘जनकपुरधामक चुनौती आ अवसर सब’ सेशनमा जनकपुरधामका मेयर मनोज साह र पूर्वमेयर बजरंग साह तथा वृषेशचन्द्र लाल रहने छन्।
‘क्रिकेटः समस्या, समाधान र सम्भावना’ सेशनमा सुयशराज प्याकुरेल, भावना घिमिरे र सुदिप शर्मा वक्ताको रुपमा रहेका छन्। तीन दिनसम्म चल्ने महोत्वसवमा भूषिता वशिष्ठ, रामअशिष यादव, मंचला झा, डा. सुरेन्द्र लाभ, दीपकराज जोशी, रानी शर्मा तिवारी, कञ्चन राय, पवित्रा बहादुर गौतम, अनिल महासेठ, वर्षा भण्डारी, निशा डाँगी, पुरन साह रौनियार, रहबर अन्सारी, तुलानारायण साह, सुधीर शर्मा, इम्तियाज वफा, मनीष झा, विप्लव प्रतीक, विभा झा, घनश्याम खड्का, कुलमान घिसिङलगायतका वक्ता रहने आयोजकले जनाएको छ।





















Discussion about this post