माहोत्तरी/माघ २० गते। महोत्तरीको गौशाला नगरपालिका–८ निवासी १९ वर्षीय खुश्बु यादवको धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरिएको छ । मृतक खुश्बु स्थानीय अभिषेक यादवकी श्रीमती हुन् ।
खुश्बु राति घरबाट निस्किएपछि बेपत्ता भएकी थिइन् । खोजीका क्रममा आज बिहान गौशाला नगरपालिका–५ स्थित विद्युत् प्राधिकरण कार्यालयबाट करिब ५ सय मिटर उत्तरको खेतमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
खुश्वुलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको प्रहरीले अनुमान गरेको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी सन्तुलालप्रसाद जयसवारका अनुसार खुश्वुको दाहिनेतर्फको कानदेखि नाकसम्म काटिएको छ। हतियारले घाँटीको केही भागमा पनि घाउ लागेको उहाँले बताउनुभयो।
मृतक खुश्वुको माइतीघर महोत्तरीकै समसी गाउँपालिका वडा नं १ पर्सादेवाड हो। त्यहाँका वडाध्यक्ष विपिन यादवले खुश्वुका बुवा लक्ष्मण यादवलाई उद्धृत गर्दै जनाए अनुसार उहाँको विवाह गत मङ्सिर ७ गते गौशाला ८ बेलगाछीका चन्देश्वर यादवको छोरो अभिषेक यादवसँग भएको थियो। हत्या दाइजोको कारण भएको माइती पक्षको आरोप छ। प्रारम्भिक अनुसन्धानका आधारमा उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अनुमान गरिएको छ । मृतकको शव पोस्टमार्टमका लागि जलेश्वर लगिएको छ। प्रहरीले शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखे पनि कसैलाई पक्राउ गरेको छैन।















Discussion about this post