जनकपुरधाम/कार्तिक ३ गते। मिथिला क्षेत्रको परम्परागत पहिरनलाई जगेर्ना र प्रचार गर्ने उद्देश्यले युवाहरुले धोती, कुर्ता, र साड़ी जुलुस निकालेका छन्। पछिल्लो समय युवाहरुमा परम्परागत पोशाकप्रति घट्दो आकर्षणलाई सम्बोधन गर्दै जनकपुरधाममा यो जुलुस आयोजना गरिएको हो।
धोती, कुर्ता, र साड़ी पहिरिएका सयौं युवा तथा युवतीहरु जनकपुरधामको प्रसिद्ध जानकी मन्दिर पुगे। मन्दिरको परिक्रमा गर्दै उनीहरुले आफ्नो सांस्कृतिक पहिचानको महत्व दर्शाए। जुलुसमा सहभागी सुमित जलानले मिथिलाको सांस्कृतिक सम्पदा युवाहरुले नै जोगाउनुपर्ने आवश्यकता औंल्याउँदै यो अभियान निरन्तर चलाउने प्रतिवद्धता जनाए।
अभियानका अगुवा मोहन महतो कोइरीले भने, “धोती कुर्ता र साड़ी जुलुस अभियान विगत ७ वर्षदेखि सञ्चालन गर्दै आएको छु। यस पटक यो अभियानलाई छठ पर्वका प्रत्येक घाटसम्म पुर्याउने लक्ष्य छ।” उनले आउँदै गरेको छठ पर्वमा धोती कुर्ता लगाएर सहभागी हुन सबैलाई आह्वान गरे।
जुलुसमा सहभागी विनिता महतोले भने साडीप्रति युवतीहरुमा रहेको आकर्षणका बाबजुद, आधुनिक शैलीले यसको परम्परागत महत्त्व घट्दै गएकोमा चिन्ता व्यक्त गरिन्। उनले सबैलाई आफ्नो पुर्खाको शैलीमा, विशेषगरी सीधा पल्लामा साड़ी लगाउन आग्रह गरिन्।
Discussion about this post