फागुन २८ गते । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमाका तीर्थयात्री आज भारतको कलाणेश्वरका लागि प्रस्थान गरेका छन् ।
मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको १५ दिने परिक्रमा आईतबार (फागुन २७ गते) देखि विधिवत् रुपमा सुरु भएको हो । मिथिला हाम्रो सभ्यता हो, गर्वका साथ भन्नुपर्दछ कि सनातन संस्कारको महान् अनि पावन उदाहरणीय घटनामध्ये रामायण हाम्रो देशमा पनि घटित भएको हो । रघुवंशीय रामले मिथिलाकी राजकुमारी सीतासँग लगनगाँठो कस्दाको इतिहास अझै पनि पवित्र मिथिलाधामका गाउँ, चोक अनि चौतारीमा भनिन्छ, कथिन्छ, गाइन्छ अनि आत्मसात गरिन्छ ।
यो परिक्रमाले रामायणका धेरैजसो पक्ष अनि तीसँग सम्बन्ध राख्ने स्थान र अवयव छुने गर्दछ । हुन त मिथिला नगरमा वर्षमा तीन वटा परिक्रमा हुने गर्दछन् र कात्तिक, फागुन र वैशाखका महिनामा ती परिक्रमा हुने गर्दछन् । यी तीन परिक्रमामध्ये फागुनमा हुने परिक्रमाको महत्व असाध्यै छ । यस परिक्रममा एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र भारतका विभिन्न स्थानका ठूलो सङ्ख्यामा साधुसन्त र गृहस्थ आश्रमका श्रद्धालुको सहभागिता रहने गरेको छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको अग्निकुण्डबाट किशोरीजी अर्थात् माता जानकी र कचुरी मठबाट मिथिला विहारी भगवान् रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा मध्यमिथिला परिक्रमा विधिवत्रुपमा बिहीबारदेखि सुरु भएको हो ।
फागुन कृष्णपक्षको औँसीमा धनुषाको ठेरा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा आईतबार देखि सुरु भएको हो । आईतबार राति धनुषाको हनुमानगढमा विश्राम गरेर परिक्रमामा सहभागी साधु सन्त तथा श्रद्धालु आज बिहान पूजापाठ गरी भारतको विहार राज्यस्थित कल्याणेश्वरका लागि प्रस्थान गरेका छन् ।
महाशिवरात्रिलगत्तै सुरु भएको मिथिलाको सर्वाधिक लोकप्रिय १५ दिने परिक्रमाका कारण मिथिलाञ्चलमा यसपालीको फागुन महिना उल्लास एवं भक्तीमय हुने भएको छ । धार्मिक झाँकी भजन, कीर्तनसहित परिक्रमाको डोला जनकपुरबाट सुरु भई आज सीमावर्ती भारतीय गाउँ कल्याणेश्वर महादेव स्थान पुग्नेछ । परिक्रमामा सहभागी क्रमशः फूलहर (गीर्जास्थान) हुँदै महोतरीको मटिहानी, जलेश्वर, मडै धु्रवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, औरही, विशौल, कल्याणेश्र र फागुन पूर्णिमाको जनकपुर फर्कनेछ । मिथिला विहारीको नेतृत्वमा पारम्पारिकरुपले आयोजना हुँदै आएको यो परिक्रमामा हजाराैं सहभागिता रहने गरेको छ ।
मिथिला महात्म्यअनुसार १८औ शताब्दीदेखि यो धार्मिक यात्रालाई माध्यमिकी परिक्रमाकारुपमा मनाइँदै आएको हो । यस यात्राका सहयात्रीले नेपालका १०७ एवं भारतको २६ गरी १३३ किलोमिटर भूमिका पैदलयात्रा तय गर्नुपर्ने परम्परा छ । प्राचीन मिथिलाको राजधानी जनकपुरको चारै कुनामा स्थापना भएका चार शिवालय कल्याणेश्वर, जलेश्वर, क्षीरेश्वर र सप्तेश्वरनाथलाई आधार मानी परिक्रमा गर्ने परम्परा रहेको छ । गृहस्थाश्रमदेखि साधुसन्तसम्मको विशाल सहभागिता रहेको यस यात्राका सबै सहभागीलाई यसको महत्वबारे जानकारी नभए पनि उनीहरु उत्साहका साथ यस यात्रामा सहभागी हुने गर्दछन् ।
मिथिला महात्मयमा माध्यमिकी परिक्रमा गर्न नसक्नेले छोटो दूरीको अन्तगृह परिक्रमा गर्नुपर्ने कुरा उल्लेख गरिएको छ । अन्तगृह परिक्रमाको सीमा क्षेत्र जनकपुरधाम उपमहानगरपालिकाभित्र पर्दछ । मिथिला महात्म्यमा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनार हुँदै हिमालय क्षेत्र, कोसी नदी भएर पुनःहरिहर क्षेत्रमा समापन हुने बृहत् परिक्रमाको चर्चा गरिएको छ । भारतको पटनास्थित गङ्गा नदीको तटमा हरिहर क्षेत्र अवस्थित छ ।
यस्तो छ परिक्रमा पथ
पहिलो दिनः फागुन औँसीका दिन जनकपुरबाट प्रारम्भ हुने परिक्रमाको पहिलो बिसौनी हनुमाननगर (कुवा) हो । जनकपुरधामबाट दुई किलोमिटर दक्षिणमा पर्ने यो ठाउँमा हनुमान, राम तथा जानकीका मूर्ति भएको एक सय ६० वर्षअघि स्थापित मन्दिर छ ।
दोस्रो दिनः दोस्रो दिनको मेला लाग्ने कल्याणेश्वर भारत उत्तर विहारको बासोपट्टी तथा उमाकुण्डको सानो बस्ती नजिकै छ । भव्य कुण्ड तथा विश्रामालयसमेत रहेको कल्याणेश्वर (कलना) निकै आकर्षक एवं मनमोहक छ । भविष्यज्ञाताका रुपमा नाम कमाएर प्रसिद्ध सिद्धबाबा ११० वर्ष बसेको ठाउँ पनि यही हो ।
तेस्रो दिनः तेस्रो दिनको विश्रामस्थल गिरिजास्थान पनि भारतमै पर्छ । स्थानीयस्तरमा फूलहर नामले चिनिने यो ठाउँमा सीताजीले फूल टिपेर गिरिजा भगवतीको पूजा गर्ने गरेको र त्यही क्रममा भगवान् रामसँग पहिलो देखादेख भएको जनविश्वास छ । गौरीशंकर, जानकी, गिरिजा भगवती र गणेशका मूर्ति एवं कप्टहारिणी र शरसमीर पोखरीह भएको यो ठाउँबाट जमुनी नदी बगेको छ ।
चौथो दिन: यस दिन परिक्रमाका यात्री नेपालको मटिहानी आइपुग्छन् । महोत्तरी जिल्लामा पर्ने मटिहानी पूरातात्विक महत्वका १२ वटा मन्दिर तथा आठ वटा पोखरी भएको घना बस्ती हो । नेपालमा संस्कृतको पढाइ हुने ठाउँका रुपमा परिचित मटिहानीमा एउटा पुरानो संस्कृत महाविद्यालय तथा मठ छन् ।
पाँचौं दिन: मिथिला परिक्रमाका यात्री यस दिन जलेश्वरनाथ महादेवको दर्शन गर्न महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर आइपुग्छन् । जलेश्वरनाथको मन्दिरको शिवलिङ्ग सधैँभरि जलमै डुबेको हुन्छ ।
छैटौं दिन: यस दिन यात्री जलेश्वरबाट मडई आइपुग्छन् । यहाँ मुनेश्वर महादेवको मन्दिर तथा दुई वटा आकर्षक पोखरी छन् ।
सातौं दिन: सातौं दिनको विश्रामस्थल धु्रव कुण्ड हो । यहाँ धु्रवजीको मन्दिर छ ।
आठौं दिन: यात्रीको आठौं दिनको गन्तव्य कञ्चनवन हरिणमरी तथा हरिशपुर नजिकै पर्छ । यहाँ सीतारामको मन्दिर छ ।
नवौं दिन: यस दिनको विश्रामस्थल पर्वता हो । यहाँ हनुमानजीको विशाल मन्दिर छ । पर्वता पुग्नुपूर्व भक्तजनले हरिहरपुरस्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पूजा अर्चना गर्छन् ।
दसौं दिन: यस दिन यात्री धनुषाधाम आइपुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुषका एक टुक्रा यहाँ खसेको विश्वास छ । यो ठाउँ धनुष दर्शनका लागि प्रख्यात छ । विवाह पञ्चमी तथा रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधामस्थित पोखरी, वाणगङ्गा नदी एवं उत्तरपट्टी करिब ५०० बिघामा फैलिएको घना वन क्षेत्रको यो ठाउँलाई विशेष रमणीय बनाएको छ । यहाँ माघ महिनाको प्रत्येक आइतबार मकर मेला लाग्छ ।
एघारौं दिन: यात्रीको एघारौँ दिनको गन्तव्य सतोषर हो । राममन्दिर र पोखरी रहेको यो ठाउँमा असार साउन महिनामा बोलबम तथा झूला पर्व पनि मनाइन्छ ।
बार्हौं दिन: यात्रीको बार्हौं दिनको गन्तव्य औरही हो । जनकपुर जयनगर रेल्वेको तेस्रो विसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजन कमला नदीमा स्नान गरी रामजानकी मन्दिरको दर्शन गर्छन् ।
तेर्हौं दिन: भारतको विशौल परिक्रमा यात्रीको तेर्हौं दिनको गन्तव्य हो ।
चौधौं दिन: चौधौं दिन परिक्रमाका यात्री करुणा भन्ने स्थानमा आइपुग्छन् । यो कल्याणेश्वर नजिकै पर्दछ ।
पन्ध्रौं दिन: यस दिन परिक्रमाका यात्री जनकपुर आइपुग्छन् । यो यात्राका अन्तिम दिन हो । फागुपूर्णिमाको सन्ध्यामा जनकपुरमा विश्राम गरी पूर्णिमाको बिहानै जनकपुरको पञ्चकोसी परिक्रमा (अन्तगृह) पछि श्रद्धालु जानकी मन्दिरलगायत अन्य मठ,मन्दिरमा दर्शन, पूजन गरी घर फर्कन्छन् ।
यसरी मिथिला परिक्रमाको १५ दिने यात्रा समाप्त हुन्छ । परिक्रमा यात्रीका लागि बाटोमा पर्ने विभिन्न स्थानमा पानी, सर्वत, नास्ता, औषधि आदिको व्यवस्था गरिएको हुन्छ । परिक्रमामा सहभागी हजारौँ यात्रु र सो अवसरमा डोला विश्राम गर्ने मेलामा सहभागी लाखौँ श्रद्धालु भक्तजनको भीडलाई व्यवस्थित तथा नियन्त्रण गर्न सरकारी र गैरसरकारी क्षेत्रका संस्था प्रयासरत रहेका हुन्छन् । महाशिवरात्रि सम्पन्नलगत्तै प्रारम्भ हुने धार्मिक यात्रा होली खेलेर समापन गर्ने परम्परा छ ।
Discussion about this post