ई.ज्योतिष विवेक पाण्डे। बडा दशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजाआजा गरेर मनाइदै छ। दुर्गा भवानीका नौ रुप मध्ये पाँचौ स्कन्दमाताको हो।नवरात्रका दिन सुरु भएसँगै पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डाको पूँजा गरिएकोमा बिहीबार पाँचौ दिन स्कन्दमाताको पूजा गरिदै छ।
कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी भगवान स्कन्दकुमार कार्तिकेयको वालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले यिनलाई स्कन्दमाता नामबाट पुकार्ने गरिन्छ ।
यिनका चार हात मध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमार कार्तिकेयलाई काखमा च्याप्दै बायाँतर्फको तल्लो हातमा कमलको फूल र माथिल्लो हातले बरमुद्रा धारण गर्ने यिनी पद्ममासनसहित सिंहमा सवार रहन्छिन् । सूर्यमण्डलकी अधिष्ठात्री देवी भएकाले यिनको पूजाआजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ ।
आजको दिन हिन्दू धर्मावलम्बीहरु नजिकैका देवी शक्तिपीठहरुमा गई श्रद्धाभक्तिपूर्वक स्कन्दमाता भवानीको पूजाअर्चना गर्ने गर्दछन् । घटस्थापनाका दिनदेखी दशमीका दिनसम्म सनातन हिन्दू धर्माबलम्बीहरुले आ–आफ्नो कुल परम्पराअनुसार घरको पूजाकोठा, दसैं घरमा भक्तिपूर्वक पूजाआजा तथा दुर्गा सप्तशती चण्डी पाठ गर्ने गर्दछन् ।
दसैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजाआधाना गर्ने गरिन्छ ।

















Discussion about this post