मंसिर १३ गते। मधेश प्रदेशमा सरकार बनाउने सहज बहुमत पाएका सत्तारुढ गठबन्धनका दलहरु नयाँ सरकार निर्माणका लागि छलफल थालेका छन् । गठबन्धनमा ठूलो दल बनेको नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णा यादवले सरकार गठनका लागि दल भित्रको आन्तरिक र गठबन्धनका दलहरुबीच छलफल सुरु भएको बताए । ‘सत्तारुढ गठबन्धन दलहरु मिलेर नै सरकार बनाउन सहज बहुमत रहेकाले समस्या आउने छैन्’ उनले भने, गठबन्धनमा रहेका दलहरु नै मिलेर सरकार बनाउनेमा दलहरु एकमत छन् ।
सत्तारुढ गठबन्धनमा हाल रहेका दलहरु नै मिलेर सरकार बनाउन स्वतन्त्र निर्वाचित सभासदहरुको सहयोग लिनु पर्ने देखिन्छ । नेकपा एमाले , जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टी मिले स्वतन्त्रको सहयोगमा पनि सहज ढंगले सरकार बनाउन सक्ने दाबी मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको छ ।‘
एमाले, जसपा र जनमत मिले सरकार बनाउन कुनै समस्या हुँदैन्’ उनले भने, ५ जना स्वतन्त्र जितेका सभासदहरु मध्ये ३ जना जसपाकै असन्तुष्ट रहेकाले मिल्न कठिनाइ हुने छैन् । प्रत्यक्षतर्फ एमालेले १५ स्थान जितेको र समानुपातिकबाट १० सिट थपिने निश्चित जस्तै छ ।जसपाले प्रत्यक्षमा ९ र समानुपातिकबाट ८ सिट प्राप्त गर्ने संभावना छ । जनमत पार्टीको प्रत्यक्षमा ६ र समानुपातिकमा ८ सिट आउने संभावना छ ।एमालेको २५, जसपाको १७ र जनमतको १४ समेत ५६ सभासद हुने देखिएको छ ।
समानुपातिकतर्फ जसपाको १ र जनमतको १ कम भएपनि सरकार बनाउन चाहिने ५३ सिट पुग्ने निश्चित छ । सत्तारुढ गठबन्धन तर्फ कांग्रेसको १३, माओवादीको ४, लोसपाको ७ र नेकपा एसको ४ सिट जितेका छन् ।५ जना स्वतन्त्र उम्मेदवार जितेका छन् ।सत्तारुढ गठबन्धनलाई जनमत अथवा जसपाको समर्थन अनिवार्य चाहिन्छ ।
नेकपा माओवादीका नेता समेत रहेका मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत साहले सरकार बनाउन छलफल सुरु भएको बताउँदै सरकारको नेतृत्व गर्ने दलको विषयमा संवाद नभएको जनाए । सत्तारुढ गठबन्धनकै सरकार बन्नेमा ढुक्क देखिएका नेपाली कांग्रेसका नेता एवं निवर्तमान भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले भने, सरकार गठन सम्बन्धमा दलहरुबीच छलफल सुरु भएको छ । कांग्रेसले सरकारको नेतृत्व गरे मुख्यमन्त्रीका प्रबल दावेदार रहेका यादवले अर्को चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
मधेश प्रदेशमा सरकार बनाउन छलफल सुरु भए पनि नेताहरुले केन्द्रमा हुने गठबन्धनकै आधारमा प्रदेशमा सरकार बन्ने बताए । एमालेकी सभासद शारदा थापाले सरकार बनाउन अहिले छलफल न चलाइएको बताइन् ।‘ समानुपातिकतर्फको सबै परिणाम आएपछि पार्टीको केन्द्रीय निर्देशन अनुसार सरकारका लागि प्रदेशमा पहल गरिनेछ ’ उनले भनिन्, प्रदेशमा सबै भन्दा ठूलो दल रहेकाले एमालेकै नेतृत्वमा सरकार गठन हुनु स्वभाविक हो । कांग्रेस र एमालेले सरकारको नेतृत्व गर्ने दाबी गरिरहे पनि सरकार गठनका लागि गणितीय संख्या ५४ कसरी पुग्ने तनाव भने छ ।
Discussion about this post