nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

दुई छाक जुटाउन धौ–धौ पर्नेलाई २१ करोड कर छलीको मुद्दा

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १, २०७९, ५:१८ मध्यान्ह
दुई छाक जुटाउन धौ–धौ पर्नेलाई २१ करोड कर छलीको मुद्दा

हरि अधिकारि । विराटनगरबाट १८ किलोमिटर दक्षिण पश्चिममा पर्ने धनपालथान गाउँपालिका–७ मुसहर टोलका रामधारी ऋषिदेव र उनका छिमेकी लखन ऋषिदेव मुसहरसहितका स्थानीय धेरै जसो समय अरूको खेतमा काम गर्छन् । २६ भदौ २०७९ दिउँसो रामधारी ऋषिदेव खेतमा पटुवा पकाउन (पानीमा डुबाउन) बोजा (मुठा) पार्दै थिए ।

विपन्न समुदायका लागि भनेर सरकारले जनता आवास कार्यक्रम अन्तर्गत बनाइदिएको दुईकोठे घरमा धेरैजसो मुसहर परिवार बस्छन् । रामधारीका दुई छोरा, तीन छोरीसहित सात जनाको परिवार छ भने लखनको ५ जनाको परिवार । आफ्नो खेतबारी नभएका उनीहरूलाई दुई छाक टार्न अरूको खेतबारीमा पसिना नबगाई हुन्न ।

झण्डै एक वर्ष अगाडि १९ मंसिर २०७८ को दिन यो मुसहर बस्तीमा केही नयाँ मान्छे आएका थिए । यी दुई मुसहर परिवारमा तिनले सानोतिनो भुइँचालो नै ल्याइदिए । जिल्ला अदालत मोरङबाट आएका हौं भन्ने सरकारी कर्मचारीले लखन र रामधारीका घरमा एउटा एउटा चिठी दिएर गएका थिए । चिठीमा सजिलै बुझ्ने भाषा पनि थिएन ।

चिठी पढेर, अरूलाई सोधेपछि बल्ल थाहा भयो उनीहरू माथि ‘कर नतिरेर राजस्व छली गरेको’ आरोप लागेको रहेछ । पत्रमा पन्ध्र दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन लेखिएको थियो । रामधारीले एकछिन त विश्वास गरेनन् । तर, पनि चिठी बुझे । त्यसपछि के गर्ने, के नगर्ने सोच्नै सकेनन् ।

परिवार पाल्न दिनहुँ अर्काको खेतमा पसिना बगाइरहेका उनलाई अदालतले लेखेको चिठीमा ध्यान दिन फुर्सद पनि थिएन । तर बेलाबखत झल्यास्स त्यही सम्झना आउँथ्यो । त्यो पत्रमा ‘५ करोड ५३ लाख रुपैयाँ राजस्व चुहावट गरेको’ भनिएको थियो ।

यसको अर्थ के हुन्थ्यो भने रामधारी ऋषिदेव भन्ने व्यक्तिको नेपालमा भव्य कम्पनी छ । त्यसको राम्रो कारोबार छ र उसले तिर्नुपर्ने कर मात्रै ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ । हरेक साँझ खान धौ–धौ भए पनि राजस्व अनुसन्धान विभागले उनलाई चलाएको मुद्दाको व्यहोरा यही हो ।

त्यस दिन रामधारीका छिमेकी लखन ऋषिदेव मुसहर चाहिं काम खोज्न गाउँदेखि पाँच किलोमिटर टाढा पुगेका रहेछन् । त्यसैले पत्र बुझ्ने काम श्रीमती बुधनीले गरिन् । अदालतको टोलीले बुधनीलाई पत्र थमाएर गयो । पत्रमा लखन ऋषिदेव मुसहरलाई पनि १५ दिनभित्र उच्च अदालत पाटन, ललितपुरमा हाजिर हुन भनेर लेखिएको थियो । लखनलाई रामधारी भन्दा तीन गुणा बढी बिगो माग गरिएको छ । पत्र अनुसार, १५ करोड ६७ लाख रुपैयाँ राजस्व छलेको विषयमा बयान दिन अदालतमा उपस्थित हुन भनिएको थियो ।

त्यसयता लखन केही सोच्न छाडेका छन् । अर्काको खेतबारी खनेर जीविका चलाउनेलाई १५ करोडको मुद्दा, यो के भएको ? २८ भदौ २०७९ मा लखनले अनलाइनखबरसँग भने, ‘म अनपढ मान्छे, यो के भएको हो, मलाई थाहा छैन ।’

१५ दिनको म्याद, नौ महिना नाघ्यो

दिनहुँ खेतबारीमा कठोर शारीरिक श्रम नगरे घरको चुल्हो नबल्ने यी मुसहरद्वयका घरको शान्ति बिथोल्ने यी दुई पत्रको गुह्य पत्ता लगाउन एक वर्षअघि काठमाडौंमा राजस्व अनुसन्धान विभागले निकालेको एउटा प्रेस विज्ञप्ति थाहा पाउनुपर्छ ।

१७ कात्तिक २०७८ मा राजस्व अनुसन्धान विभागले महत्वका साथ एउटा विज्ञप्ति जारी गरेको थियो । मुलुकका १७ वटा विभिन्न कम्पनीले २ अर्ब ३६ करोड रुपैयाँ राजस्व छली गरेको उल्लेख गर्दै उसले उनीहरूको सूची समेत प्रकाशित गरेको थियो ।

त्यो सूचीमा मोरङका दिप इन्टरनेशनल र डिएन इन्टरनेशनल नाम गरेका कम्पनी पनि थिए । खोतल्दै जाँदा ती कम्पनीका सञ्चालकमा भेटिए मुसहरद्वय । राजस्व अनुसन्धान विभागले उनीहरूमध्ये लखन विरुद्ध १५ करोड ६७ लाख रुपैयाँ र रामधारी विरुद्ध ५ करोड ५३ लाख रुपैयाँ राजस्व छलेको अभियोग लगाएको थियो ।

विभागले यी दुई कम्पनी विरुद्ध राजस्व छलेको अभियोगमा एक दिनको फरकमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको थियो । मुद्दा गरेपछि अदालतको टोलीले दुवैको घरमा १९ मंसीर २०७८ मा ‘१५ दिन भित्र उपस्थित हुनु’ भनेर म्याद तामेल गरेको थियो ।

करोडौंको आरोप : छैन बस चढ्ने खर्च

दैनिक अर्काको खेतमा काम नगरे घरको चुल्हो नबल्ने यी मुसहरद्वय विरुद्ध २१ करोड २० लाख रुपैयाँ राजस्व छली गरेको आरोप छ । अदालतले म्याद तामेल गरेको नौ महिना यता उनीहरू बाटो खर्च नभएर काठमाडौं जान सकेका छैनन् । ‘कुनै पनि दिन पुलिसले पक्रन्छ’ भन्ने सुन्दा उनीहरूलाई डर त लाग्छ । तर के गर्नु, बस चढ्ने खर्च छैन, फेरि काठमाडौं जाँदा–आउँदा खानु–बस्नु पनि पर्छ । त्यसैले जे होला भनेर अहिलेसम्म उनीहरू घरै बसेका छन् ।

दुई कृषि श्रमिक विरुद्ध यति ठूलो राजस्व छलीको आरोप लागेको र बस चढ्ने खर्च नभएर उनीहरू काठमाडौं नआएको थाहा पाएपछि हामीले यस सम्बन्धी कागजातहरू केलायौं । उच्च अदालत पाटनमा पेश भएको राजस्व छली सम्बन्धी मुद्दामा संलग्न दस्तावेजहरू हेर्‍यौं। अनि आरोपीहरूसँग कुराकानी गर्‍यौं।

अदालतमा पेश भएका कागजहरूबाट डिएन इन्टरनेशनल नाम गरेको कम्पनी रामधारी ऋषिदेवको नाममा दर्ता भएको देखिन्छ । त्यो कम्पनीले सामान किनेको कागजात मात्रै पेश गरेको त्यसबाहेक अरू कुनै कारोबार गरेको देखिंदैन ।

कम्पनी रजिष्ट्रारको कार्यालयमा गएर कम्पनीको अभिलेख हेर्दा रामधारीले जिल्ला प्रशासन कार्यालय, मोरङबाट निकालेको नागरिकतामा उल्लेख गरेको तीनपुस्ते विवरण बाहेक अरू केही भेटिएन । कम्पनी दर्ताका क्रममा ऋषिदेवले उल्लेख गरेको भनिएको फोन सम्पर्कविहीन छ ।

कम्पनीको स्थायी ठेगाना उल्लेख गरिएको नागार्जुन–३ चाँगुनारायणमा यो कम्पनीको कार्यालय भेटिएन । त्यसैले विस्तृत अनुसन्धान सुरु गर्नुअघि नै राजस्वले २२ फागुन २०७६ मा गोरखापत्रमा एक साताभित्र उपस्थित हुनु भनेर सूचना निकालेको रहेछ । त्यसपछि उसले प्रतिवेदन तयार गरेर ‘प्रतिवादीहरू फेला नपरेकोले बयान लिन नसकिएको’ भनेको रहेछ ।

‘परिवार पाल्न, गुजारा गर्न अरूको खेतमा काम गरिदिन्छु’ २६ भदौ दिउँसो आफ्नो घरबाट दक्षिणपट्टिको खेतमा पटुवाको बोजा (मुठा) बाँधिरहेका रामधारी ऋषिदेवले अनलाइनखबरसँग भने, ‘अदालतका मान्छेले घरमै आएर चिठी दिएको पनि एक वर्ष हुनलाग्यो ।अब के हुन्छ थाहा छैन ।’

पटुवाको बोटलाई पानीमा डुबाउनु अघि मुठा बाँध्नुपर्छ । मुठा बाँधेर पानीमा कुहाएको तीन सातापछि पानीमा धोएर पटुवा र सन्ठी छुट्याइन्छ । पटुवा बजारमा बिक्री हुन्छ । सन्ठी भने घरमा दाउराको लागि प्रयोग गरिन्छ । आफूमाथि ५ करोड रुपैयाँ भन्दा धेरै राजस्व छली गरेको मुद्दा परेको थाहा पाए पनि उनले दैनिक ६०० रुपैयाँ आउने यो काम छाड्न सकेनन् । किनभने पटुवाको मुठा बनाउन छाड्ने हो भने बेलुका उनको घरमा चुल्हो बल्दैन ।

अहिले अदालतको चिठीले लखन र रामधारीका छिमेकीलाई पनि सताउन थालेको छ । ‘करोडौं राजस्व छली गरेको चिठी घरमा आएपछि केही सहयोग हुन्छ कि भनेर हारगुहार गर्‍यौं, नेताको घरमा पनि पुग्यौं’ लखन र रामधारीका छिमेकी महम्मद खुदास मिया मन्सुरीले भने, ‘यिनीहरूको नाममा छुट्टा–छुट्टै कम्पनी दर्ता छ, तर यिनीहरूलाई केही थाहा छैन, विचराहरूले कहाँबाट कर छल्नु ?’

अदालतबाट घरमा म्याद पुगेपछि रामधारी आफूले गर्दै नगरेको कसुरमा कसरी मुद्दा चल्यो भनेर धेरै सोचे । अर्काको खेतबारी खन्ने–जोत्ने बाहेकको काम नजानेका उनले कम्पनी दर्ता गर्न सक्ने कुरै थिएन । कम्पनी नै नभएपछि राजस्व छलीमा उनको नाम जोडिने कुरै हुँदैनथ्यो ।

१३ वर्षअघिको त्यो घटना

आफूमाथि कसरी यस्तो दशा आइलाग्यो भनेर महिनौं घोत्लिंदा पनि रामधारीले खासै मेसो पाएका थिएनन् । उनी कहिल्यै सरकारी अड्डा गएका थिएनन्, न उनले कहिल्यै बैंकमार्फत कारोबार नै गरेका थिए । कसरी लाग्यो नखाएको विष ? घोत्लिंदै जाँदा १३ वर्षअघिको एउटा घटनाले उनी झस्किए ।

२०६६ सालको फागुन महिनाको कुरा हो । रामधारी आफ्ना साथी लखनका साथ एकपटक काठमाडौं जाने मौका पाएका थिए । रामधारी आफूलाई कबिर दासको भक्त भनेर चिनाउन रुचाउँछन् । कबिर दासको भक्त भएकाले उनी आफ्नो घरनजिकै रहेको कृष्ण मन्दिरमा बस्ने दास किसन यादव (कबिर दासका भक्तहरू आफ्नो नाम अघि दास लेख्न रुचाउँछन्) सँग नजिक भएका थिए । उनी कहिलेकाहीं यादवको खेतको काम पनि गरिदिन्थे ।

यही मेसोमा एक दिन यादवले उनलाई विराटनगर तीनपैनी चोकका प्रकाश उप्रेतीसँग चिनजान गराए । यही बेला उप्रेतीले किसनका छोरालाई ‘एउटा काम छ’ भनेर काठमाडौं पठाउन खोजेका थिए । तर छोराले जान मानेनन् ।

त्यसपछि प्रकाश उप्रेतीसँगै रहेका किसन यादवले रामधारी र लखनलाई ‘तिमीहरू नै काठमाडौं जान्छौ त ?’ भनेर सोधे । ‘बुढ्वा कहेल्के तु जेभी काठमाडौं ? घुमियो, फिरियो, रोजियो भ्याजेतो (किसन दासले काठमाडौं जाउ घुमेर आउ, दिनको हाजिरा पनि हुन्छ भने)’ उनले भने, ‘त्यसपछि हामी प्रकाश उप्रेतीसँग काठमाडौं गएका थियौं ।’ काठमाडौं जानुअघि प्रकाश उप्रेतीले उनीहरूलाई पटक–पटक ‘नागरिकता बोक्न नछुटाउन’ भनेको रामधारी अहिले पनि सम्झिन्छन् ।

उनीहरूलाई कलंकीमा झर्ने र बानेश्वरमा लजमा बस्ने भनिएको थियो । त्यसबेला प्रकाश उप्रेतीले एकजना व्यक्तिसँग भेट गराएका थिए । ती व्यक्तिले आफू प्रकाश घिमिरे भनेर लखन र रामधारीलाई परिचय दिएका थिए । उनले लखन र रामधारीको नागरिकता मागेर लगे, एकछिनमा फिर्ता पनि दिए ।

भोलिपल्ट उनीहरूलाई एउटा, एउटा फाइल दिएर कुनै कार्यालयमा लगिएको थियो । अहिले बुझ्दा त्यो कुनै सरकारी कार्यालय हुनुपर्छ भन्ने रामधारीलाई लाग्छ । ‘फाइलमा हजारका ४/५ वटा नोट पनि थिए, हामीलाई भित्र पठाएर उनीहरू बाहिरै बसे’ रामधारीले भने, ‘एकछिन पछि फाइल घुर्ता (फिर्ता) दिए, त्यो फाइल लिएर हामीलाई कलंकीमा रहेको एउटा कुनै बैंकमा लगे ।’

रामधारीलाई त्यो बैंक हो भन्ने किन याद छ भने उप्रेती र घिमिरेले ‘बंैकमा कसैले केही सोधे आफ्नै हो, कपडाको काम गर्ने हो भन्नु’ भनेर सिकाएका थिए । नभन्दै कर्मचारीले आफ्नै हो, भनेर सोधे, उनीहरूले हो भने, काम सकियो ।

हिंड्ने बेलामा कागजमा नाम लेख्न लगाए । किन भनेर सोध्दा महिनाको ५ हजार आउँछ भनेर जवाफ दिएका थिए । तीन दिनपछि घर फर्कंदा दुई दिनको २ हजार रोजी (हाजिरा) दिए । केही कपडा पनि किनिदिए । त्यसयता रामधारी काठमाडौं गएका छैनन् ।

पाँच हजार पठाइदिन्छु भनेका प्रकाश घिमिरे भन्ने व्यक्तिले उनलाई दुई महिनामा १० हजार रुपैयाँ पठाइदिए पनि । घिमिरेले रामधारीको नामबाट सिम पनि निकालेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भए । ‘२०६६ सालको कुरा हो’ रामधारी भन्छन्, ‘अहिले मुद्दा चलेपछि कतै त्यही कागजले पो काम बिगार्‍यो कि भन्ने लाग्छ ।’

‘यस्तो चिठी आउँदै गर्छ चिन्ता नमान्नू’

अदालतको पत्र आएपछि घरमा आएका गाउँलेले ‘तँलाई अब जेल लैजान्छ, उतै थुन्छ’ भन्दै रामधारीलाई तर्साए । उनको भोकतिर्खा हरायो । यसपछि उनी हतारहतार त्यसबेला काठमाडौं घुमाउन लैजाने विराटनगर–२ तिनपैनीका प्रकाश उप्रेतीलाई भेट्न गए । उप्रेतीले ‘यस्तो चिठी आउँदै गर्छ, चिन्ता नमान्नू’ भनेर घर फर्काइदिए । यो सुनेपछि केही दिन त केही हुँदैन भन्ने लाग्यो । तर अदालतले पठाएको चिठी हो, कुनै पनि दिन पक्राउ परिन्छ कि भन्ने लाग्छ अहिले पनि रामधारीलाई ।

लखनकी श्रीमती बुधनी श्रीमान्को नाममा अदालतबाट पत्र आउँदा अचम्ममा परेकी छिन् । ‘हामी मजदुरी गरेर खान्छौं, श्रीमान् आज पनि काममा जानुभएको छ’ २६ भदौ दिउँसो आफ्नै घर आँगनमा टोलाउँदै बसेकी बुधनीले अनलाइनखबरसँग भनिन्, ‘मैले सबै बुझ्दिनँ, अदालतले १५ करोडको पत्र पठाएको छ ।’

हामीले बुधनीले बुझ्दिनँ भनेका विवरण केलाएका छौं । काठमाडौं महानगरपालिका–७ का प्रकाशराज गिरी केही कम्पनीका सञ्चालक हुन् । युनिभर्सल ट्रेड एण्ड सप्लायर्स/युनिभर्सल निर्माण सेवा/युनिभर्सल प्रिन्टिङ प्रेसका सञ्चालक उनी राजस्व छलीको आरोपमा अनुसन्धानको दायरामा थिए । राजस्वको अनुसन्धान अनुसार, उनले सुरक्षा निकाय र अरू सरकारी कार्यालयहरूमा सामान सप्लाई गर्ने काम गर्थे ।

‘कतिपयमा उनले सामान आपूर्ति गरेको मात्रै देखाउने, भुक्तानी पनि लिने गरेको सूचना थियो’ राजस्व स्रोतले भन्यो, ‘आपूर्ति गरेको सामान खरिद गरेको देखाउन यी नक्कली फर्मबाट खरिदको बिल बनाएको खुलेको हो ।’ सुरक्षा निकायका सम्बन्धित अधिकारीको संलग्नता विना नक्कली आपूर्तिका कागजात तयार गर्न सम्भव नै नहुने राजस्व स्रोत बताउँछ ।

‘मैले यी फर्म र यसका सञ्चालकसँग कारोबार गरे पनि केही बताउन सक्दिनँ । कतिपय अवस्थामा खरिद गरेका सामान पहिले आउने, अनि पछि मात्रै बिल आउने गरेकाले कारोबार मिलाउने क्रममा यस्तो भएको हो’ गिरीले राजस्व अनुसन्धान विभागमा आफ्नो बयानमा भनेका छन्, ‘कामका सिलसिलामा साइटमा नै निर्माण सामग्री खरिद गर्नुपर्ने, कसैले बिल नै नदिने भएकाले कारोबार मिलाउन यी कम्पनीका बिल मिलाएर इन्ट्री गरिएको हो ।’

उनीमाथि २४ पुस २०७६ मा २१ करोड १८ लाख रुपैयाँ राजस्व छलेको आरोपमा अदालतमा मुद्दा दायर भएको थियो । उनले कतै काठमाडौं त कतै काभ्रेको चौरीदेउराली–७ ठेगाना लेखाएका छन् ।

छानबिनका क्रममा गिरीले ती कम्पनीसँगको कारोबारमा लखन र रामधारीका नाममा सञ्चालित कम्पनीहरूको बिल प्रयोग गरेको र नक्कली कारोबार देखाएको खुल्यो । तर, उनले ती कम्पनी कसका हुन् र कसरी काम गरिरहेका छन् भन्ने खुलाउन नसक्ने बताएका छन् । उनले बयानमा भनेका छन्, ‘यी लगायत फर्मका सञ्चालकहरूलाई म व्यक्तिगत रूपमा चिन्दिनँ । को हुन् र कहाँ छन् भन्ने कुनै जानकारी छैन । यी फर्मका प्रोप्राइटर र सञ्चालकहरूलाई विभागमा उपस्थित गराउन सक्दिनँ ।’

उनले मुसहरद्वयका नाममा स्थापित कम्पनीका सञ्चालकलाई आफूले नचिनेको अनि कारोबारस्थल र गोदाम नदेखेको भनेका छन् । आफूले किनेका बिलको नगदमै भुक्तानी भएको उनले स्वीकारेका छन् । बयानमा उनले दिनेश कोइराला, रामकिशोर प्रसाद, जयकिशोर साह लगायतसँग बिल किनेको र रकम दिएको उल्लेख गरेका छन् । यसरी उनले आफू छानबिनमा परेपछि दर्जनौं फर्म र तिनका सञ्चालकको नाम लिएका थिए ।

राजस्व स्रोतका भनाइमा, यी दुईको खाताबाट कारोबार गरेको भेटिएन भने लेजर समेत पेश भएको थिएन । अनुसन्धानका क्रममा राजस्व अनुसन्धानले रामधारी ऋषिदेवलाई खोज्यो । सम्पर्क ठेगाना नखुलेको, फोन नलागेको, अनि ठेगानामा जाँदा उक्त ठेगानामा त्यो फर्म कहिल्यै पनि नरहेको भन्दै थप छानबिन थाल्यो ।

उनीहरूको नाममा खुलेको कम्पनीले आर्थिक वर्ष २०६९/७० मा भन्सारमा साढे २ करोडको सामान ल्याएको थियो । अर्को वर्ष ४ करोड ७८ लाखको सामान आयात गरेको भेटियो । तर, भ्याटमा कुनै विवरण पेश गरेको थिएन ।

अनुसन्धान अधिकृत प्रेमप्रसाद आचार्यले, १० महिना लगाएर ४ भदौ २०७७ मा विस्तृत अनुसन्धान पेश गरेका थिए । तत्काल त्यो फाइल उच्च सरकारी वकिलको कार्यालय पाटनमा पेश भयो ।

पाँच महिना अध्ययन गरेर सरकारी वकिल कार्यालयले फेरि राजस्व अनुसन्धानमा फाइल फिर्ता पठायो । थप प्रमाण जुटाएर राजस्वले २०७७ चैतमा फाइल बुझायो । त्यसपछि साढे ६ महिना लगाएर सरकारी वकिलले रायसहित फाइल फिर्ता पठाएको विवरणबाट देखिन्छ ।

करिब एक वर्ष त्यो फाइलमाथि अनुसन्धान गरेका सरकारी वकिलले आरोप लागेका व्यक्तिका वास्तविक हैसियत बुझ्न र जान्न जरूरी ठानेनन् । गिरीले आफूले नक्कली बिल किनेका व्यक्तिहरूको नाम किटान गर्दा समेत राजस्वले उनीहरूको साटो फर्म खोल्न प्रयोग भएका रामधारी र लखनलाई मुद्दा चलायो ।

राजस्व अनुसन्धान विभागमा पेश भएको विस्तृत अनुसन्धान प्रतिवेदनमा महत्वका साथ ‘सीमित गिरोहले निर्दोष व्यक्तिहरूलाई प्रयोग गरेर कम्पनी खोलेर राजस्व चुहावट गरेको’ उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘…झुटा तथा नक्कली भ्याट बिल–बिजक छपाई गरी विभिन्न फर्म/कम्पनीबाट कमिसन रकम लिई बिक्री गर्न साधारण लेखपढ गर्न नजान्ने व्यक्तिहरूको नाममा कानून बमोजिम व्यवसाय सम्बन्धित निकायमा दर्ता गर्ने, सोधेको आधारमा प्यान नम्बर लिने तथा वास्तविक कारोबार हो भनी भ्रम समेत सिर्जना गर्न फर्मको नाउँमा बैंक खाता खोली कारोबार गर्ने काममा विभिन्न व्यक्ति संगठित रूपमा नै सक्रिय रहेको अनुसन्धानका क्रममा देखिन आयो ।’

आफ्नै विस्तृत अनुसन्धानबाट ‘निर्दोष फँसाइएको’ र ‘गिरोहले त्यसबाट लाभ लिएको’ उल्लेख गरेको राजस्व अनुसन्धान विभागले मुद्दा दायर गर्ने बेलामा भने उसले भने झैं सर्वसाधारणलाई प्रयोग गरी कम्पनी खोलिएका व्यक्तिलाई नै करोडौंको बिगो मागदावी गरेर मुद्दा चलायो । त्यो मुद्दा अहिले उच्च अदालत पाटनमा विचाराधीन छ ।

तर यो मुद्दाले दक्षिणी मोरङको एउटा विपन्न बस्तीमा हलचल ल्याएको छ । ‘मैले कम्पनी खोलेर पैसा कमाएको रहेछु भने मेरो नाममा के छ हेर्दिनुपर्‍यो’ लखन ऋषिदेव मुसहरले भनेका छन्, ‘यो सब झुट हो, म अरूको खेतमा मजदुरी गर्छु । कहाँबाट राजस्व छल्नु मैले ?’

साभार स्रोत- अनलाईनखबर बाट

Tags: प्रदेश १ खबर

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!