असार २६ गते। बाँकेका उद्यमी महिलाहरू विभिन्न लघुवित्त संस्था संग लिएको ऋण समयमा चुक्ता गर्न नसक्दा विचल्लीमा परेका छन्।
उद्योग व्यवसाय गर्न भनेर लघुवित्तबाट लिएको ऋण तिर्न नसक्दा उनीहरू अन्य विभिन्न वित्तीय संस्थाहरूमा कर्जा सापटी माग्नका लागि धाउन बाध्य भएका हुन्। एउटा लघुवित्त संस्थाबाट निकालेर अर्कोमा किस्ता तिर्ने काम एक पछि अर्कौ गर्दै जाँदा कर्जा र यसको व्याजको भारीले थिचिएर उठनै नसक्ने अवस्थामा पुगेर आर्थिक संकटमा फस्दै गएका छन्।
ऋण तिर्न केही थप समय माग गर्दा पनि लघुवित्तहरूले समय नदिने र घरमै गएर मानसिक तनाव हुने गरी तर्साउने , धम्क्याउने गरेको उनीहरूको आरोप छ। एउटा अध्ययन तयार पारेको तथ्याँक अनुसार नेपालमा करिब २२ लाख मानिसहरूले लघुवित्त संस्थाबाट कर्जा लिएका छन्। २२ लाख मध्ये झण्डै ७५ प्रतिशत मानिसहरूले कर्जा समयमा तिर्न सकेका छैनन्।
सर्वसाधारणलाई आर्थिक कारोवारमा सहज वातावरण मिलाउने किसिमले खोलिएको लघुवित्तहरूबाट नै सर्वसाधारण नेपाली नागरिक अहिले दुःख र पिडा पाइरहेको लघुवित्तमा आवद्ध महिलाहरूको व्यापक गुनासो छ। सुलभ तरिकाले सस्तो दरमा ऋण प्रवाह गर्ने उद्देश्यका साथ वितरण गरिएको ऋणले विपन्न नागरिकलाई गाउँ ठाँउमा खोलिएको लघुवित्त संस्थाहरुले पछि आएर महंगो ब्याज तिर्न बाध्य बनाएको खजुरा गाउँपालिकाका मिना बुढा क्षेत्रीको गुनासो रहेको छ।
घर दैलोमा नै आएर सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पारी लघुवित्तले धान्नै नसकिने गरि ऋणीसंग व्याज लिने गरेको उनको भनाइ छ। पहिला लघुवित्तहरूले सस्तो व्याजमा ऋण दिने प्रलोभनमा पार्ने गरेको र ऋण निकालेर तिर्दा अलि समय लागे वा आकस्मिक समस्या आईपरे पनि समस्या नबुझदिने गुनासो गरिन्।
ऋण लिएर हदैसम्मको ज्यादतिका कारण बस्नसमेत गाह्रो भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ४ मा बसोवास गर्ने मनिषा तामाङले बताइन्। केही समय ढिलो भयो भने ऋण असुली गर्ने टोली आएर घरजग्गा नै हडप्न खोज्ने मात्र होइन किड्नी बेच, बीमा छ मरे हुन्छ, किन बाँच्नेरु जस्ता अत्यन्तै मन बिझ्ने बचन र अव्यवहारिक लाञ्छना लगाइ भनेर विभिन्न प्रकारको डर , त्रास र धम्की दिने गरेको उनले बताइन्।
घरमा भएको सामान बेचेर हुन्छ कि घर बेचेर हुन्छ तिर्नुपर्छ अरु केही विकल्प छैन भन्दै दैनिक फोनमा घरमै आएर धम्काउने गरेकोले वित्तिय संस्था खारेज गर्नुपर्ने उनको माग छ। बिरामी हुँदासमेत समस्या नबुझ्ने गरेकोले मनमा अनेक कुराहरू खेल्ने गरेको तामाङले बताइन्।
पीडित धना सुनारले लघुवित्तले गर्दा घरपरिवारको सम्बन्ध नै बिग्रिएको बताइन्। लघुवित्तको दबाबले दिनरात सताउने गरेको उनले गुनासो पोखिन्। ‘घरमा ऋण माग्न आउनेबित्तिकै भैंसी लैजान्छौं, कहिले घरमा ताल्चा लगाउने जस्तो धम्की दिइरहेका छन्’, उनले भनिन्। उनले ऋण लिएपछि तिर्नु आफ्नो कर्तव्य भए पनि लघुवित्तहरूले दिनदिनै अमानवीय दबाब दिँदा समस्या उत्पन्न भएको बताइन्।
त्यस्तै अर्का पीडित महिला उद्यमी सीता शाहीको समस्या पनि अरुको भन्दा फरक छैन। घर खर्च चलाउन र व्यवसाय गर्नका लागि लिएर श्रीमानलाई वैदेशिक रोजगारका लागि पठाए पनि कतैबाट राम्रो आम्दानी गरि ऋण तिर्न केही ढीलाई भएपछि लघुवित्तले आएर दिनहुँ जसो तनाव दिन थालेको उनले बताइन्। साथै कोरोना भाइरसको कारणले भएको लकडाउनले पनि सवै कारोवार प्राय ठप्प भएपछि झनै ऋणमा फसेको उनको भनाइ छ।
‘बचौं, बचाऔं र अघि बढौं’ भन्ने मूल नाराका साथ लघुवित्तीय संस्थाहरूको विरुद्ध देशव्यापी रुपमा संघर्ष गरिने समितिका उपाध्यक्ष फत्तेबहादुर पुन मगरले बताए। नेपालमा करिब ५८ लाख नागरिक ऋण प्रवाह गरेका र २२ लाख ऋण तिर्न नसक्ने अवस्थामा रहेको लघुवित्तीय संस्थाहरूको विरुद्ध संघर्ष समितिका उपाध्यक्ष मगरले बताए। लघुवित्तका ऋणले गर्दा घरवारविहीन बनाएको र लघुवित्तिय संस्थाबाट धेरै पीडा सहनु परिरहेको मगरले बताए।
लघुवित्तीय संस्था बिरुद्ध लघुवित्त पीडित महिलाहरूले सरकारसँग लघुवित्तीय संस्थाहरू खारेज गर्न, लघुवित्तीय संस्थाहरूद्वारा लगाइएको सामूहिक ऋण मिनाह गर्न, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर्न, आवश्यकता र क्षमताका आधारित काम र दामको व्यवस्था गर्न, समाजवादी अर्थतन्त्रको विकास गर्न उनिहरूले सरकारसँग माग राखेका छन्।
साभार स्रोत-सञ्चार सन्देश अनलाईन बाट





















Discussion about this post