जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पति कमाएको भन्दै एक नायव सुब्बा र उनका परिवारका सदस्यहरुमाथि मुद्दा दायर गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन नायव सुब्बा गणपति झाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ । झा स्रोत नखुलेको झण्डै साढे २ करोड कमाएको अख्तियारको आरोप छ ।
२ करोड ४४ लाख ७१ हजार १०५ रूपैयाँ बिगो कायम गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको बुझिएको छ ।
झा २०३९ मंसिर ९ गते गाविस सचिव पदबाट सार्वजनिक सेवामा प्रवेश गरेर २०७८ साउन महिनामा अवकाश पाएका थिए । २०३९/४० देखि २०७७/७८ सम्मको उनको समग्र आयव्यय हेर्दा २ करोड ४२ लाख ६७ हजार १०४ रूपैयाँ देखिएको छ ।
तर व्ययतर्फ जग्गा खरिद, ऋणको सावाँब्याज, गाडीहरू, घर, अध्ययन खर्चलगायत गरेर ४ करोड ८७ लाख ३८ हजार २१० रूपैयाँ हुन आएको छ । अख्तियारका अनुसार २ करोड ४४ लाख ७१ हजार १०५ रुपैयाँको भने स्रोत खुलेको छैन ।
आयोगले झाले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी मीनादेवी र छोराहरूको नाममा राखेको देखिएको जनाएको छ ।
झाका पत्नी मीनादेवी, छोराहरू दिवाकर, शिवाकर र करुणाकरलाई समेत प्रतिवादी बनाएर आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।





















Discussion about this post