अरुण कुमार यादव/सप्तरी/पुस १५ गते । किसानहरुको समस्या सम्बोधनका लागि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले बिहीबारदेखी अनिश्चितकालिन राजमार्ग बन्दको आहवान गरेको छ ।
राजमार्ग केन्द्रित आन्दोलनमा उत्रेको जनमत पार्टीका नेता कार्यकर्ताहरु बिहीबार बिहानैदेखी सप्तरीको भारदह, कंचनपुर, रुपनी, कठौना, कल्याणपुरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

उनीहरुले राजमार्ग अवरुद्ध गर्दै बीच सडकमै टायर बालेर प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा दुई महिला आन्दोलनकारी घाइते भएका छन् भने आधा दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।
सोही क्रममा भारदहमा प्रहरीसँग झडप हुँदा रुबी शर्मा र एकामनी पण्डित घाइते भएको पार्टीका जिल्ला सचिव थानेश्वर साहले जानकारी दिएका छन् ।
यस्तै राजमार्ग अवरुद्ध गर्ने क्रममा श्याम मण्डल, कृष्ण मण्डल, सुरेन्द्र मण्डल, भोगेन्द्र शर्मा, राजेश यादव, सदानन्द मुखियालाई प्रहरीले पक्राउ गरेको उनले सचिव साहले बताए ।
बुधबारदेखी जनमतका नेता कार्यकर्ताहरुले किसानको माग सम्बोधनका लागि उच्चस्तरिय समिति गठन गर्नलगायतको माँग गर्दै राजमार्ग केन्द्रित आन्दोलनको थालनी गरेका हुन् ।

किसानहरुका लागि मलखाद र बिउको व्यवस्था, सिंचाईको ब्यवस्था, निशुल्क बिजुली, हावाहुरी र वर्षाले भएको बालिनालीको क्षति वापत राहत, बालीको उचित समर्थन मुल्य निर्धारण तथा उखु किसानको भुक्तानी गर्न पार्टीले माग गरेको छ ।
यस्तै किसानका लागि कार्डको व्यवस्था, पेन्सनको व्यवस्था, बालिनालीको बिमा, तथा किसानहरुमाथी गरिएको दमन, झुठा मुद्दा खारेज लगायत आन्दोलनका क्रममा पक्राउ परेकाहरुको रिहाईको माग समेत गरेको छ ।















Discussion about this post