जनकपुरधाम/कार्तिक २२ गते।प्रदेश २ को राजधानी जनकपुरधाममा ई-रिक्साको अत्यधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ। जनकपुरधाम उपमहानगरपालिकाले ई-रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो।
नगरमा दर्ता नगरिएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन्। नगरमा अत्यधिक ई-रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ। विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ। नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडासमेत तोकिएको छैन। जसकारण मनपरी भाडा लिने गरेको स्थानीयको गुनासो छ।
जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रूट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ। तर रूट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयको गुनासो छ।
जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरू ई-रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन्। उनले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताइन्।
‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौं, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जसकारण काम समयमै हुन सकेको छैन, अब चाँडै नै पार्किङ र भाडा लगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौं’, उपमेयर मिश्रले भनिन्, ‘अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्याउने भनिएको छ, हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौँ ।’
उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताइन्। पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ।
चालकहरुले अत्यधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ। अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीय बताउँछन्।
साभार स्रोत-सेतोपाटी बाट

















Discussion about this post