अरुण कुमार अक्षय/सप्तरी/भदौ २४ गते।हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिज नेपाली हिन्दू महिलाहरुले आज राजविराजमा उल्सासका साथ मनाएका छन् ।

स्थानीय हरिनन्देश्वर महादेव मन्दिरको प्राङ्गणमा तिज महोत्सव मूल समारोह समतिद्वारा यस बर्ष भव्यतापूर्वक प्रतियोगितात्मक तिज गीत तथा नृत्य कार्यक्रम सम्पन्न गरेको हो ।
तिज महोत्सव मूल समारोह समितिका संयोजक राजविराज जेसीजकी निवर्तमान अध्यक्ष एवम् पत्रकार पुनम पोखरेलको अध्यक्षतामा आयोजित प्रतियोगितात्मक गीत÷नृत्य प्रतियोगिता कार्यक्रममा उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय गीतबाट सुरु भएको प्रतियोगितात्मक खण्डमा मौलिक गीततर्फ थारु भाषामा गीत र नृत्य गर्नु हुने राजकुमारी चौधरी, बिमल चौधरी र राधा चौधरीको समूह प्रथम, नेपाली गीतमा गीत र नृत्य गर्नुहुने मञ्जु श्रेष्ठ, बिना उपाध्यक्ष र अनार श्रेष्ठको समूह द्वितिय तथा सरस्वती कार्की, रत्ना कार्की र सुमित्रा देवकोटाको समूह तृतिय हुनु भयो ।

यसैगरी अडियोतर्फ मैथिली गीतमा एकल नृत्य गर्नुभएकी रश्मी यादव र समूहतर्फ नेपाली गीतमा नृत्य गरेकी मान्सी पोखरेल, मेघना सिंह र प्रकृति थापाको समूहले उत्कृष्ठ स्थान हासिल गर्नुभयो ।
विजेताहरुलाई पुरस्कार र प्रमाण पत्र प्रमुख अतिथि संविधान सभा सदस्य रन्जु ठाकुर, बोदे बर्साइन नगरपालिकाकी उपप्रमुख रन्जु साह, एकल महिला समूहकी प्रदेश २ की अध्यक्ष अनीता देवकोटा, सैनिक महिला संघकी सदस्य सुप्रिया थापाले प्रदान गर्नभयो ।

यसैगरी मूल समारोह समितिकी संयोजक पुनम पोखरेलले प्रमुख अतिथि ठाकुर र निर्णायकहरु शिक्षक तथा साहित्यकारहरु गिरीराज पौडेल, इन्द्रबहादुर थापा र ललिताकुमारी झालाई बिशेष उपहार प्रदान गर्नुभयो ।
कार्यक्रमको सञ्चालन अधिवक्ता मनु खनालले गर्नुभयो ।
नारी स्वतन्त्रताको प्रतीकको रुपमा रहेको यस पर्वमा सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाहरुले तिज गीतमार्फत महिला अधिकारका साथै शान्ति र सुरक्षाको माग गरेका छन् ।
प्रतियोगितात्मक गीतहरुमार्फत महिलाहरुले मौलिक संस्कृतिको संरक्षण र देशमा राजनीतिक स्थायित्वमा जोड दिदै त्यसतर्फ नेताहरुको ध्यानाकर्षण समेत गराए ।उनिहरुले शान्ति, स्थायित्व, सामाजिक न्याय र परिवर्तनका गीत समेत गाए ।
यस्तै सप्तरीको राजविराजस्थित भगवती मंदिरको प्राङगणमा राजविराज नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरीक शाखाले आयोजना गरेको हरितालिका तीज महोत्सव एवम चौरचन जितिया पर्वको अवसरमा आयोजित कार्यक्रममा बिभिन्न किसिमका शुभकामना आदान प्रदान गरेका छन ।

त्यस्तै महिलाहरु रमाइलोका लागि नाचगान गर्नुका साथै एक अर्कालाई शुभकामना आदान प्रदान समेत गरेका थिए ।














Discussion about this post