अवधेशकुमार झा/राजविराज/भदौ १२ गते।मृत्यु भइसकेका, उमेर नपुगेकाको नागरिकतामा केरमेट गरी र भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाएर सप्तरीमा कर्मचारी र जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ता लिएको खुलेको छ ।
डाकनेश्वरी नगरपालिका–२ का वडाध्यक्ष मोहम्मद रहमान मियाँ र वडासचिव विनोदकुमार ठाकुरलगायतले अवैध रूपमा सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएको पाइएको हो । स्थानीयको जाहेरीपछि प्रहरीले वडासचिव ठाकुरलाई गत साउन २४ मा नियन्त्रणमा लिएपछि यो तथ्य खुलेको हो ।
डाकनेश्वरी–२ मा ७८ जनाको नाममा किर्ते कागजात बनाई आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म सामाजिक सुरक्षा भत्ता बुझिरहेको अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले बतायो । वडाध्यक्ष मियाँ, वडासचिव ठाकुर र एक वडा सदस्य र अर्का एक कर्मचारीमाथि उजुरी परेको थियो । उक्त उजुरीका आधारमा अनुसन्धानअघि बढाउँदै प्रहरीले वडासचिवलाई प क्रे को थियो । वडाध्यक्षसहित अन्य तीन आरोपित भने फ रा र छन् ।
प्रहरी अनुसन्धानबाट सामाजिक सुरक्षा भत्ता पचाउने नियतले मृ त्यु भइसकेका व्यक्तिको नामबाट समेत भत्ता लिँदै आएको खुलेको छ । यसका अतिरिक्त एउटै व्यक्तिको नागरिकताको नम्बरलाई केरमेट गरी फरक नाम र जन्ममिति राखी सामाजिक सुरक्षा भत्ता लिन पाउने उमेर बनाउने, भारतीय नागरिकको नक्कली नेपाली नागरिकता बनाई उनको नामबाट सामाजिक सुरक्षा भत्ता लिने, वडाका नागरिक नै नभएका व्यक्तिको नागरिकता ल्याई जन्ममिति र ठेगाना केरमेट गरी नयाँ जन्ममिति र आफ्नै वडाको ठेगाना राखेर भत्ता उठाउनेलगायतका कार्य उक्त समूहले गर्दै आएको प्रहरी स्रोतले बतायो ।
पछिल्लो ४ आर्थिक वर्षमा यो समूहले भत्तावापतको एक करोड रुपैयाँभन्दा बढी रकम अनियमितता गरेको स्थानीयको आरोप छ । सप्तरी प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले किर्ते कागजात पेस गरी मृत्यु भएका व्यक्तिको नाममा समेत भत्ता खाइरहेको जाहेरीका आधारमा वडासचिव ठाकुरलाई प क्रा उ गरी अनुसन्धान भइरहेको पुष्टि गरे । फरार ३ आरोपितको खोजी भइरहेको उनले बताए ।
उच्च अदालत जनकपुरको राजविराज इजलासको आदेशमा प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो । वडासचिवसहित प्रतिवादी बनाइएका चारै जनामाथि सरकारी कागज छाप किर्ते र किर्ते नागरिकतामा मुद्दा चलाइएको छ । ‘अनुसन्धान सूक्ष्म तरिकाले भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्रै थप बताउन सकिन्छ,’ काफ्लेले भने । नगर प्रमुख शिवनारायण साहले वडा–२ का अध्यक्ष मियाँ सम्पर्कमा नरहेको बताए । मियाँ कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
साभार-कान्तिपुर बाट














Discussion about this post