विनय यादव/सिरहा/असार १९ गते।हुलाकी राजमार्ग अन्तर्गत सिरहा-धनुषा जोड्ने कमला नदीको पुलको स्ल्याप (छत) पनि भत्किएको छ । बाढी थेग्न नसकेर बिहीबार मात्र पुल भासिएको थियो।
पुलको १२ वटा स्पानमध्ये सिरहातर्फको दोस्रो स्पान बिहीबार भासिएको थियो । स्पान भासिएको पुलको स्ल्याप शुक्रबार झरेको हो ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले भासिएको स्पानको दुबै तर्फको स्ल्याप शुक्रबार झरेको जानकारी दिए । ‘छत (स्ल्याप) स्पानमाथि नै अडेको हुन्छ,’ उनले भने, ‘स्पान भासिएपछि स्ल्याप ढल्नु स्वभाविकै हो ।’
पुल निर्माणका लागि सुरुमा पप्पु कन्स्ट्रकसनले २०६८ सालमा ४२ महिनाभित्र सक्ने गरी ठेक्का पाएको थियो । तर, उसले ७ वर्षसम्म पनि निर्माण सम्पन्न नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय जनकपुरले लुम्बिनी बिल्डर्सलाई २०७८ असार १३ गते काम सक्ने गरी निर्माणको जिम्मा दिएको थियो ।

लुम्बिनी बिल्डर्सले तीन वर्षदेखि उक्त पुलको निर्माण गरिरहेको थियो । अगामी साउनदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको पुल उद्घाटनअगावै भासिएको हो ।
सामान्य बाढीले नै पुल भत्काएको भन्दै स्थानीय आन्दोलित बनेका छन् । पुल निर्माणमा गुणस्तरहीन काम भएकै कारण भत्किएको भन्दै छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै स्थानीय युवाहरूले शुक्रबार सिरहा सदरमुकाममा प्रदर्शन गरे ।
चरणवद्ध संघर्षको तयारी
सञ्चालनमा नआउँदै पुल भत्किएपछि हुलाकी सडक संर्घष समितिले चरणबद्ध संघर्षमा उत्रने तयारी गरेको छ । लामो समयसम्म हुलाकी सडक निर्माणले गति नलिएपछि संघर्ष समितिले २०७५ सालमा चरणबद्ध रूपमा संघर्ष गरेको थियो । त्यसपछि निर्माणले तीव्रता पाएको थियो ।
हुलाकी सडक संघर्ष समितिका संयोजक रामरिजन यादवले हुलाकी सडक अन्तर्गतको कमला पुल सञ्चालनमा नआउँदै भत्किएपछि आइतबारदेखि फेरि संघर्ष थाल्ने जानकारी दिए । आइतबार सिरहा सदरमुकाममा प्रदर्शन गर्ने र पुल निर्माणको टुंगो नलागेसम्म चरणबद्ध रुपमा संघर्षलाई निरन्तरता दिने यादवले बताए ।
पुल निर्माणमा कमसल र गुणस्तरहीन काम भएको र त्यसको छानबिन गरी दोषीलाई कारबाही गर्न उनले माग गरे ।
1625138494.jpg)

















Discussion about this post