जनकपुरधाम,बैशाख १ गते।तराई मधेशको धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा रहेको सिरुवा पर्व आजदेखि विधिवत सुरु भएको छ ।
पर्वको पहिलो दिन अर्थात् आज तरार्ई मधेशका जिल्लाहरूमा सतुवाइन मनाइँदैछ । यस पर्वमा आजको दिन घर-घरमा सातु खाने तथा दान गर्ने चलन रहेको छ ।
आज घरका देवीदेवतालाई प्रसादका रुपमा सातु चढाउने गरिन्छ । त्यसपछि परिवारका सम्पूर्ण सदस्यले सातु खाने गरिन्छ । चनाको या घरमा नै चना, गहुँ, मकै तथा जौ मिसाएर तयार पारेको सातु खाने तथा दान गर्ने चलन छ । यो पर्व दुई दिनसम्म मनाइन्छ ।
आजदेखि एक महिनासम्म आँगनमा रोपिएको तुलसीको बोटमा पानी हाल्ने चलन छ । बाँसको दुई खम्बा गाडेर तुलसीको बोटमाथि गाग्रो झुण्ड्याउने गरिन्छ । गाग्रोमुनिको भागमा सानो प्वाल पारी पानी हालिन्छ ।गाग्रोमा भरिएका पानी थोपा थोपा तुलसीको बोटमाथि खस्ने गर्छ । यो विधि एक महिनासम्म जारी रहन्छ ।
सतुवाइन पर्वको भोलिपल्ट मधेशमा जुडशीतल पर्व मनाउने चलन छ । आज राति तयार पारिएका खाद्यान्नका परिकारहरू तरुवा, बडी, कडही र विभिन्न प्रकारका तरकारी खाइन्छ र केही बासी राखी जुडशीतलका दिन नुहाइ घरकी मूल महिलाले घरको मूल ढोकासहित सबै ढोकामा राखेर सबै जनाले खाने चलन छ ।
सहकालको प्रतीक मानिने यस पर्वमा वर्षभरि अनुकूल वर्षाको कामना गर्दै मैथिल (मिथिलावासी) साथीसँगीबीच धुलो माटो र हिलो छ्यापाछ्याप गर्छन् । जुडशीतल पर्वमा आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस्भन्ने कामना गरिन्छ ।
मिथिलामा सबै जाती समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देश रहेको छ । खासमा यो पर्व कृषिसँग सम्बन्धित रहेको पाका मैथिल बताउँछन् । बढ्दो गर्मीबीच ‘शीतल’ जोड्न गरिने कामना पर्वको मुख्य ध्येय भएको हुँदा यो पर्वलाई ‘जुडशीतल’ भनिएको मैथिल परम्परा र संस्कृतिका जानकार तथा साहित्य साधक महोत्तरीकै जलेश्वर–६ बखरीका बासिन्दा नेपाल सरकारका अवकास प्राप्त उपसचिव महेश्वर राय बताउनुहुन्छ ।
पर्वमा सहकाल (अनुकूल वर्षा र मौसम, अनिकाल व्याधिको प्रकोप नहुने) को कामना गरिने हुँदा यसको मुख्य सन्देश कृषिसँग सम्बन्धित रहेको रायको भनाइ छ । पर्वका लागि सामानको जोहो गर्नेको भिडले सबैजसो बजार भरिभराउ छन् । बजारमा तरुवा खाइने काँचो केरा, पर्व विशेषको खास तरकारी मुन्गा र जौको सातु तथा दलहनको वेसन (पिठो) को खुबै बिक्री बढेको व्यापारीले बताएका छन् । त्यसैगरी दही पनि पर्वको खास परिकार भएको हुँदा आम मैथिल आजै दूधको जोहोमा लागेका छन्
यसका साथै नयाँ वर्षमा अम्खोरा, गाग्री, कलशलगायतका भाडामा राखिएको पानी घरका ज्येष्ठ सदस्यले सबै घरका व्यक्तिहरूको टाउँकोमा आजुरले राखेर वर्षभरि शीतलताको कामनासहित आशिर्वाद दिने चलन छ । बिहीबार विधिवत रूपमा सिरुवा पर्व समापन हुनेछ ।















Discussion about this post