सिरहा। सिरहामा एक बालक र एक महिलाको डुबेर मृत्यु भएको छ। सिरहाको नरहा गाउँपालिका–५ अधिकारी टोलस्थित कमुतिया पोखरीमा रामेश्वर शर्माका तीन वर्षीय छोरा राज शर्मा डुबेर मृत्यु भएको छ ।
पोखरीमा नुहाउने क्रममा डुबेर सिकस्ति भएका बालक शर्मालाई स्थनीयवासीले उद्धार गरी उपचारका लागि स्थानीय स्वास्थ्य चौकीमा पु¥याएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि चोहर्वातर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।
त्यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदह पोखरीमा डुबेर बिहीबार एक महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार २२ वर्षको देखिने मृतक महिलाको पहिचान खुलेको छैन ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डिएसपी सन्तु जैसवालका अनुसार कमलदहमा महिला डुबेको अवस्थामा देखेको खबर पाएपछि साँझ ७ बजे घटनास्थलमा प्रहरी टोली पुगेको थियो । जितिया पर्वका बेला ब्रतालु महिला नुहाउन गएको बेला डुबेको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post