जनकपुरधाम/असोज १६ गते । जनसरोकार अभियानले जनकपुरधाम उपमहानगरपालिकाभित्र सरसफाइ, सडकबत्ती, सडक तथा नाला व्यवस्थापन, ट्राफिक व्यवस्थापन र पर्यटकमैत्री वातावरण निर्माणमा तत्काल सुधार गर्न माग गरेको छ।
अभियानका अध्यक्ष जितेन्द्र महासेठ तथा महासचिव कौशल्या कुशवाहासहितको टोलीले शुक्रबार जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाउँदै धार्मिक तथा ऐतिहासिक नगरीको पहिचान कायम राख्न नगरको आधारभूत व्यवस्थापनमा सुधार आवश्यक रहेको जनाएको हो।
अभियानले जनकपुरधामको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई ध्यानमा राख्दै नगर व्यवस्थापनलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। लामो समयदेखि नियमित तथा प्रभावकारी फोहोर व्यवस्थापन हुन नसक्दा नगरका विभिन्न स्थानमा दुर्गन्ध फैलिने तथा फोहोरका कारण जनस्वास्थ्यमा समेत असर पर्न सक्ने अवस्था रहेको अभियानले जनाएको छ।
धार्मिक पर्यटकीय नगरीका रूपमा देश–विदेशमा पहिचान बनाएको जनकपुरधाममा नियमित सरसफाइसँगै दीर्घकालीन फोहोर व्यवस्थापनको योजना कार्यान्वयन गर्नुपर्ने अभियानका अध्यक्ष महासेठले बताए। उनका अनुसार जानकी मन्दिर तथा आसपासका क्षेत्रलाई लक्षित गरी विशेष सरसफाइको व्यवस्था गर्न आवश्यक छ।
सरकारले जनकपुरधामका केही क्षेत्रलाई विशेष संरक्षित क्षेत्र घोषणा गरेको सन्दर्भ उल्लेख गर्दै अभियानले संरक्षित क्षेत्रको गरिमा झल्किने गरी सरसफाइ तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएको छ।
त्यस्तै, नगरभित्रका सडकबत्ती तथा गल्लीका पोलबत्तीको अवस्था सुधार गर्न पनि अभियानले माग गरेको छ। सडक तथा गल्लीमा पर्याप्त प्रकाशको व्यवस्था नहुँदा नागरिकको सुरक्षामा समस्या आउन सक्ने भन्दै चाडपर्वको समयमा समेत सुरक्षित वातावरण उपलब्ध गराउन तत्काल सडकबत्ती मर्मत तथा सञ्चालन गर्न आग्रह गरिएको छ।
अभियानले जनकपुरधामका विभिन्न सडक जीर्ण तथा भत्किएको भन्दै तत्काल मर्मत गर्नसमेत माग गरेको छ। सडकको खराब अवस्थाका कारण पैदल यात्रु तथा सवारीसाधनको आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढेको महासेठले बताए।
सडक तथा नालाका खुला र जीर्ण चेम्बर तत्काल मर्मत गर्नुपर्ने माग पनि ज्ञापनपत्रमा समेटिएको छ। खुला चेम्बरका कारण पैदल यात्रु जोखिममा पर्ने गरेको उल्लेख गर्दै अभियानले हालै एक बालिकाको खुट्टा चेम्बरमा फसेर गम्भीर जोखिममा परेको घटनासमेत स्मरण गराएको छ।
सडकपेटीमा टुटफुट भएका भागको मर्मत गरी पैदल यात्रुका लागि सहज आवागमनको व्यवस्था गर्नुपर्ने अभियानको माग छ। सडक, नाला, चेम्बर तथा फुटपाथको नियमित निरीक्षण गरी जोखिमयुक्त स्थान पहिचान गरेर तत्काल मर्मत गर्नुपर्ने महासेठले बताए।
अटो रिक्सा सञ्चालन व्यवस्थित गर्न माग
जनसरोकार अभियानले जनकपुरधामको ट्राफिक व्यवस्थापनलाई पनि व्यवस्थित बनाउन माग गरेको छ। नगरभित्र अटो रिक्सा अव्यवस्थित रूपमा सञ्चालन हुँदा पैदल यात्रु तथा अन्य सवारी चालकलाई आवागमनमा समस्या हुने गरेको भन्दै अटो रिक्सा सञ्चालनलाई व्यवस्थित गर्न आग्रह गरिएको हो।
अटो रिक्साको पार्किङ, रुट तथा सञ्चालनसम्बन्धी विगतमा भएका सर्वपक्षीय निर्णय कार्यान्वयन गर्न पनि अभियानले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
अभियानले जनकपुरधाम आउने पर्यटक तथा तीर्थयात्रीले भोग्नुपरेका समस्यालाई समेत गम्भीर रूपमा लिनुपर्ने जनाएको छ। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको शहरमा सरसफाइ, सडक, बत्ती, ट्राफिक र सार्वजनिक पूर्वाधारको उचित व्यवस्थापन नहुँदा पर्यटकमा नकारात्मक प्रभाव पर्न सक्ने अध्यक्ष महासेठको भनाइ छ।
पर्यटक तथा तीर्थयात्रीलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन सके जनकपुरधामको धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अभियानले जनाएको छ।
जनसरोकार अभियानले नगरपालिकालाई ज्ञापनपत्रमा उल्लेखित विषयमा तत्काल आवश्यक कदम चाल्दै जनकपुरधामलाई स्वच्छ, सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री धार्मिक नगरीका रूपमा विकास गर्न आग्रह गरेको छ।















Discussion about this post