काठमाडौं/असार २९ गते। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । काँग्रेसका सभापति समेत रहेका देउवाले मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
साँझ ६ बजेका लागि तोकिएको सपथ ग्रहण कार्यक्रम हालै मात्र सकिएको छ । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएका कारण शपथ ग्रहण कार्यक्रम ढिलाइ भएको हो ।
यससँगै, राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि मात्रै प्रधानमन्त्री देउवाले शपथ लिएका हुन् ।मंगलबार नै प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले सोहि दिनै नै शपथ लिएका छन् ।

देउवा यसअघि ४ पटकसम्म प्रधानमन्त्री भइसकेका छन् । यो उनको प्रधानमन्त्रीका रुपमा पाँचौ कार्यकाल हो ।
यसअघि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बनेका देउवा त्यसपछि २०५८ सालमा दोस्रो पटक, तेस्रो पटक २०६१ सालमा प्रधानमन्त्री बनेका थिए । साथै २०७४ साल जेठमा चौथो पटक प्रधानमन्त्री बन्न सफल भएका थिए ।
सर्वोच्च अदालतले सोमबार जारी गरेको फैसलामा भनिएको थियो, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) मा प्रतिनिधिमा सभा ‘कुनै सदस्यले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा’ भन्ने वाक्यांश रहेको र सो प्रयोजनका लागि प्रतिनिधि सभाका १४९ जना सदस्यहरु (बहुमत सदस्यहरु)ले समर्थन जनाएको कुरालाई विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेको भनि मान्नुपर्ने पर्याप्त र मनासिव आधार देखिएको हुँदा सोही बमोजिम २ दिनभित्र अर्थात् असार २९ गते मंगलबार अपरान्ह ५ बजेभित्र उपरोक्त अनुसार संविधानसम्मत् रुपमा मिति २०७८ जेठ ७ गते सम्माननीय राष्ट्रपति समक्ष दावी पेश गरेका प्रतिनिधि सभका सदस्यलाई प्रधानमन्त्री पदमा नियुक्ती गर्नु र संविधानको धारा ७६ को उपधारा (६) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पूरा गर्नु गराउन भनी प्रत्यर्थीमध्येका राष्ट्रपतिको कार्यालय तथा संघीय संसदको पुनस्र्थापित प्रतिनिधि सभाका नाउँमा परमादेश जारी हुने ठहर्छ ।’
चार मन्त्रीले लिए शपथ
राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण कार्यक्रममा देउवासँगै ४ जना मन्त्रीले पनि शपथ लिएका छन् ।

जसमा नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खाँडले गृहमन्त्रीको शपथ लिएका छन् भने ज्ञानेन्द्र कार्कीले कानून न्याय तथा संसदीय मामिला मन्त्रीका रुपमा शपथ लिएका छन् ।
त्यसैगरी माओवादी केन्द्रका तर्फबाट जनार्दश शर्माले अर्थमन्त्री र पम्फा भुसालले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रुपमा शपथ लिएकी छन् ।














Discussion about this post