जनकपुरधाम/११ मंसिर । धनुषाको औरही गाउँपालिकामा मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
शुक्रबार साँझ औरही गाउँपालिका–२ परवाहास्थित हुलाकी सडकमा भएको दुर्घटनामा औरही गाउँपालिका–३ निवासी ३५ वर्षीय लालबाबु महराको मृत्यु भएको हो।
प्रहरीका अनुसार जनकपुरधामबाट औरहीतर्फ जाँदै गरेको ज ६ प ७७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकछेउमा रहेको विद्युत् पोलमा ठोक्किएको थियो। दुर्घटनामा चालक महराको टाउकोमा गम्भीर चोट लागेको थियो।
दुर्घटनापछि घटनास्थल पुगेको प्रहरी टोलीले उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको थियो। तर, अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले साँझ ५ बजेर ३४ मिनेटमा उनलाई मृत घोषणा गरेका थिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले मोटरसाइकल आफैँ अनियन्त्रित भएर विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको जानकारी दिएका छन्।
उनका अनुसार मृतकको शव प्रादेशिक अस्पताल जनकपुरधाममै राखिएको छ भने दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय औरहीको नियन्त्रणमा रहेको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

















Discussion about this post