जनकपुरधाम/मंसिर ११ गते। मधेश प्रदेशमा बालविवाह अन्त्य गर्ने उद्देश्यले तयार पारिएको १० वर्षे रणनीतिक योजनाको समीक्षा तथा अन्तरसंवाद कार्यक्रम शुक्रबार जनकपुरधाममा सम्पन्न भएको छ।
बालविवाह, उमेर नपुगी हुने विवाह तथा जबरजस्ती गरिने विवाह उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हो।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुनील कुमार साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेशको बालविवाहविरुद्धको १० वर्षे रणनीतिक योजनाको कार्यान्वयन अवस्था, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाबारे समीक्षा र छलफल गरिएको थियो।
कार्यक्रममा प्रदेश सरकार, स्थानीय तह, नागरिक समाज, गैरसरकारी संघसंस्था, बाल अधिकारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बालविवाह अन्त्यका लागि रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, आवश्यक बजेट विनियोजन, कानुनी व्यवस्थाको कार्यान्वयन, बालबालिकाको शिक्षा तथा आर्थिक सशक्तीकरण र सामाजिक सोच तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने विषयमा जोड दिइएको थियो।
यसैगरी बालविवाह न्यूनीकरणका लागि प्रदेश सरकार, स्थानीय सरकार, नागरिक समाज, गैरसरकारी संस्था तथा सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए।
कार्यक्रमबाट बालविवाह अन्त्यका लागि ११ बुँदे साझा प्रतिबद्धता पत्रसमेत सार्वजनिक गरिएको छ। प्रतिबद्धतामा मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनाको प्रभावकारी कार्यान्वयन, नीति, कार्यक्रम तथा बजेटमा प्राथमिकता, कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र बालबालिका तथा किशोरकिशोरीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विषय समेटिएका छन्।
त्यसैगरी शिक्षा तथा सशक्तीकरण, सामाजिक तथा व्यवहार परिवर्तन, समन्वय तथा सहकार्य, बाल संरक्षण तथा न्यायमा पहुँच, अनुगमन तथा जवाफदेहिता र बालविवाहमुक्त समुदाय निर्माणका लागि अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव सुनील कुमार साहले बालबालिकाको शिक्षा, अधिकार र सुरक्षित भविष्य सुनिश्चित गर्न सबै पक्षले आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्छ। मधेश प्रदेशको १० वर्षे रणनीतिक योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बालविवाहमुक्त समाज निर्माणका लागि सबैको सहकार्य आवश्यक छ।”
कार्यक्रम सबल नेपाल, सेभ द चिल्ड्रेन, जेजेवाईसी बारा, एफसीए, जस्ट राइट्स फर चिल्ड्रेन, स्वीडेन सर्भिग, एक्सनएड, प्लान इन्टरनेसनल, रतौली युवा क्लब, सीएफडब्लूए र लाइफ नेपाललगायत संस्थाको सहयोग तथा सहकार्यमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न गैरसरकारी संघसंस्थाका पदाधिकारी,विभिन्न मन्त्रालयका पदाधिकारी, मधेश प्रदेश प्रहरी कार्यालयका पदाधिकारी,मधेश प्रदेश बाल क्लब सञ्जालका पदाधिकारी लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमले बालविवाह अन्त्यका लागि सरकारी प्रतिबद्धतालाई व्यवहारमा उतार्न तथा सबै सरोकारवालाबीच साझा जिम्मेवारी र जवाफदेहिता सुनिश्चित गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकको अपेक्षा छ।

















Discussion about this post