जनकपुरधाम/मंसिर ११ गते । लैङ्गिक हिंसाविरुद्धको रोकथाम तथा प्रभावितलाई आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले धनुषाका स्थानीय तहहरूले एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) को सेवा सुदृढीकरणका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
शुक्रबार जनकपुरधाममा UNFPA र CMC Nepal को साझेदारीमा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रमअन्तर्गत जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको हो । जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलको अध्यक्षतामा सम्पन्न बैठकमा लैङ्गिक हिंसा रोकथाम, प्रतिकार्य सेवा तथा हिंसा प्रभावितको संरक्षण र पुनःस्थापनाका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्र, धनुषा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, ओसीएमसीका फोकल पर्सन, सेफ हाउसका प्रतिनिधि, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
बैठकमा सामाजिक विकास शाखाका सुनील कुमार झा, महिला तथा बालबालिका शाखाका सौर्य साह तथा जेसीआई (GESI) फोकल पर्सन सुनीता यादवको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. बद्री नारायण साह तथा प्रादेशिक अस्पतालका मेडिकल अफिसरले स्वास्थ्य सेवासँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गरेका थिए । त्यस्तै, सीएमसी नेपालका मनोसामाजिक संयोजक सरोज खड्काले लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई प्रदान गरिने मनोसामाजिक सहयोग, सेवा व्यवस्थापन तथा समन्वयका विषयमा प्रस्तुतीकरण र सहजीकरण गरेका थिए ।
कार्यक्रममा मनोसामाजिक परामर्शकर्ता सपना चौधरीले लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सेवा, हिंसा प्रभावित व्यक्तिहरूलाई उपलब्ध गराइने मनोसामाजिक सहयोग र एकद्वार संकट व्यवस्थापन केन्द्रको सेवासम्बन्धी विषयमा प्रस्तुतीकरण गरेकी थिइन् । उनले बैठकको सहजीकरणसमेत गरेकी थिइन् ।
बैठकमा ईडब्ल्यूपीएन (EWPN) कार्यक्रमको फेजआउट भए पनि लैङ्गिक हिंसा न्यूनीकरण तथा हिंसाबाट प्रभावित व्यक्तिहरूलाई मनोसामाजिक सहयोग र आवश्यक सेवा उपलब्ध गराउन सामुदायिक मनोसामाजिक कार्यकर्ता (CPSW) को भूमिका महत्वपूर्ण रहेको विषयमा छलफल भएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत दुई जना CPSW मार्फत प्रदान हुँदै आएको सेवा निरन्तरताका लागि ७ लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी बैठकमा गराइएको थियो । उक्त बजेटबाट दुई जना CPSW को सेवा निरन्तरताका लागि आवश्यक प्रक्रिया अघि बढाउने विषयमा समेत छलफल गरिएको थियो ।
त्यसैगरी, EWPN कार्यक्रम फेजआउट भए पनि ओसीएमसीमार्फत सेवाग्राहीलाई प्रदान गरिँदै आएको सेवा अवरुद्ध हुन नदिन दुई जना नयाँ स्टाफ नर्समार्फत केस म्यानेजमेन्ट सेवा निरन्तर सञ्चालन भइरहेको विषयमा पनि छलफल भएको थियो ।
बैठकले लैङ्गिक हिंसा प्रभावित व्यक्तिहरूलाई स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श, सुरक्षा, कानुनी सहायता तथा पुनःस्थापनालगायतका आवश्यक सेवा उपलब्ध गराउन सम्बन्धित स्थानीय तहले समन्वय र स्रोत परिचालन गर्ने निर्णय गरेको छ । आवश्यकताअनुसार हिंसा प्रभावित व्यक्तिहरूलाई समयमै एकद्वार संकट व्यवस्थापन केन्द्र (OCMC) मा प्रेषण गर्ने निर्णयसमेत गरिएको छ ।
बैठकमा ओसीएमसीको प्रभावकारी तथा दिगो सेवा सञ्चालनका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउने धनुषाका सात स्थानीय तहमा लक्ष्मीनियाँ गाउँपालिका, मिथिला बिहारी नगरपालिका, सबैला नगरपालिका, जनकनन्दिनी गाउँपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका र शहीदनगर नगरपालिका संग छ्लफल भएको थियो ।
त्यस्तै, ओसीएमसीको सेवा थप व्यवस्थित, पहुँचयोग्य तथा प्रभावकारी बनाउन स्थानीय तहहरूले आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममा ओसीएमसीलाई समावेश गरी आवश्यक कार्यक्रम सञ्चालन तथा सेवा प्रवाहका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएका छन् ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिकाबाहेकका अन्य स्थानीय तहहरूले ओसीएमसी सेवालाई प्रभावकारी र दिगो रूपमा सञ्चालन गर्न विनियोजन गरेको बजेट मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत प्रादेशिक अस्पताल जनकपुरधामको आम्दानी खातामा जम्मा गर्ने विषयमा समेत छलफल भएको थियो । यसका लागि जिल्ला समन्वय समिति र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय तथा सहजीकरण गर्ने निर्णय गरिएको छ ।
बैठकले स्थानीय तहहरूबीच आपसी समन्वय, सहकार्य र बजेट व्यवस्थापनमार्फत लैङ्गिक हिंसा रोकथाम तथा प्रभावित व्यक्तिहरूको संरक्षण, उपचार र पुनःस्थापनासम्बन्धी सेवालाई थप प्रभावकारी र दिगो बनाउने निष्कर्ष निकालेको छ ।

















Discussion about this post