६ मंसिर । अभिनेता सलमान खानले हालै कडा सुरक्षा घेराभित्र रहँदा भोग्नुपर्ने निरन्तरको डर र अनिश्चितताका बारेमा खुलेर कुरा गरेका छन् ।
एक कार्यक्रममा बोल्दै उनले आफ्नो अनुभवलाई सशस्त्र बलमा कार्यरत व्यक्तिहरूका परिवारको चिन्तासँग तुलना गरे । साथै, आफ्नो आगामी चलचित्र ‘मातृभूमि’ को सन्दर्भमा कुरा गर्दै उनले सैनिकहरू र उनीहरूका परिवारले गरेका त्यागका बारेमा पनि चर्चा गरे ।
एबीपीका अनुसार उक्त कार्यक्रममा बोल्दै सलमानले भने, “जब कोही घरबाट बाहिर निस्कन्छ, तब आमाबुवालाई चिन्ता र पीडा हुन्छ । उनीहरू सोच्छन्- छोरा वा छोरी सुरक्षित रहोस् र सकुशल घर फर्कियोस् ।”
त्यसपछि सलमानले आफ्नो जीवनको उदाहरण दिँदै बताए कि कडा सुरक्षा व्यवस्था हुँदा पनि केही नराम्रो होला कि भन्ने डर कहिल्यै पूर्ण रूपमा हट्दैन । उनले भने, “हाम्रो वास्तविक जीवनमा पूर्ण सुरक्षाका बीचमा रहँदा पनि हामीलाई सधैँ डर लागिरहन्छ कि कतै केही नराम्रो नहोस्… हामी हरपल चिन्तित हुन्छौँ ।”
सलमानले सीमामा खटिने सैनिकहरूका परिवार र उनीहरूले हरेक दिन सामना गर्नुपर्ने अनिश्चितताका बारेमा कुरा गरे । उनले भने, “कल्पना गर्नुहोस् त, जब उनीहरूलाई थाहा हुन्छ कि उनीहरूका पति, दाजुभाइ वा छोरीहरू सीमामा छन्, तब उनीहरू हरेक दिन कस्तो मानसिक अवस्थाबाट गुज्रिरहेका होलान् ।”
जानकारीका लागि लरेन्स बिश्नोई गिरोहसँग जोडिएका बारम्बारका ज्यान मार्ने धम्की र आक्रमणका कारण महाराष्ट्र सरकारले सलमान खानलाई ‘वाई-प्लस’ श्रेणीको सुरक्षा प्रदान गरेको छ
हाल ‘मातृभूमि: मे वार रेस्ट इन पिस’ नामक यो चलचित्र, जसको पहिलेको नाम ‘गलवान’ थियो, भिड-१९ महामारीको पहिलो लहरका बेला सन् २०२० जुन १५ मा भारत र चीनबीच भएको ‘गलवान गतिरोध’ मा आधारित छ । पूर्वी लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकहरूबीच झडप भएको थियो । यो ‘लाइन अफ एक्चुअल कन्ट्रोल’ को क्षेत्रमा भएको ठूलो सीमा गतिरोधको एउटा हिस्सा थियो । विवादित क्षेत्रहरूमा दुवै पक्षले गस्ती गर्ने प्रयास गर्दा यो झडप हिंस्रक बन्न पुग्यो । साथै, चलचित्रको पटकथा (स्क्रिप्ट) परिवर्तन गर्न सरकारले आफूलाई दबाब दिएको भन्ने हल्लालाई पनि अभिनेताले खण्डन गरेका छन् ।

















Discussion about this post