जनकपुरधाम/मंसिर ४ गते । जनकपुरधाममा यस वर्षको रामजानकी विवाहपञ्चमी महामहोत्सवलाई भव्य, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न औपचारिक तयारी सुरु गरिएको छ। साताव्यापी रूपमा मनाइने महोत्सवलाई लक्षित गर्दै जानकी मन्दिरले विभिन्न समिति तथा उपसमिति गठन गरी व्यवस्थापनको काम अघि बढाएको हो।
आगामी मंसिर २३ गतेदेखि सुरु हुने विवाहपञ्चमी महामहोत्सवको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा बिहीबार जानकी मन्दिरमा आयोजित सर्वपक्षीय बैठकले विभिन्न निर्णय गरेको छ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा बसेको बैठकले महोत्सवलाई व्यवस्थित बनाउन शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रंगभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् आपूर्तिलगायतका जिम्मेवारी छुट्टाछुट्टै समिति तथा उपसमितिलाई दिने निर्णय गरेको छ।
बैठकपछि उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले यस वर्षको विवाहपञ्चमी महामहोत्सव विगतका वर्षभन्दा अझ भव्य र व्यवस्थित बनाउने उद्देश्यले प्रारम्भिक चरणदेखि नै तयारी थालिएको बताए। उनले महोत्सव सफल बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी कार्यालयसँग समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
त्रेतायुगमा भगवान् राम र माता सीताको विवाह भएको पौराणिक मान्यताअनुसार प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महामहोत्सव मनाउने परम्परा रहिआएको छ। यस अवसरमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहित विभिन्न स्थानबाट ठूलो संख्यामा साधुसन्त, श्रद्धालु र दर्शनार्थी जनकपुरधाम आउने गर्छन्।
श्रद्धालुहरूको सम्भावित चापलाई ध्यानमा राख्दै बैठकमा आगन्तुकको स्वागत तथा सत्कार, आवास व्यवस्थापन, सुरक्षा व्यवस्था र आवागमनलाई सहज बनाउने विषयमा विशेष जोड दिइएको थियो। महोत्सव अवधिमा जनकपुरधाम आउने श्रद्धालु तथा दर्शनार्थीले सहज रूपमा धार्मिक गतिविधिमा सहभागी हुन पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सर्वपक्षीय बैठकमा धार्मिक संघसंस्था, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले विवाहपञ्चमी महामहोत्सव धार्मिक उत्सव मात्र नभई मिथिलाको कला, संस्कृति, परम्परा र पहिचानको महत्वपूर्ण प्रतीक रहेको धारणा राखेका थिए। साथै, यस पर्वले नेपाल–भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आएको उल्लेख गर्दै महोत्सवको सफल आयोजनाका लागि सबै पक्षको साझा जिम्मेवारी रहेको बताएका थिए।
मिथिलाको धार्मिक तथा सांस्कृतिक गौरवसँग जोडिएको विवाहपञ्चमी महामहोत्सवलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन जानकी मन्दिरले सरोकारवाला निकायसँग समन्वय र सहकार्यलाई तीव्रता दिएको छ। यस वर्ष श्रद्धालुहरूको सहजता, सुरक्षा र व्यवस्थापनलाई प्राथमिकतामा राख्दै महोत्सवको तयारी अघि बढाइएको छ।

















Discussion about this post