सिरहा/असाेज २८ गते। सिरहा प्रहरीले प्रतिबन्धित पटाका बरामद गरेको छ।
भारतबाट मोटरसाइकलमा बोकेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले करिब ४० हजार रुपैयाँ बराबरको पटाका बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार सिरहाको बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ स्थित हवल्दार चोकमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उक्त पटाका बरामद गरेको हो।
भारतबाट मोटरसाइकलको बोरामा पटाका ल्याउँदै गरेका व्यक्तिलाई प्रहरीले चेकजाँच गर्न खोज्दा उनी बोरा फालेर मोटरसाइकलसहित फरार भएका थिए।फालिएको बोराभित्र विभिन्न किसिमका पटाका फेला परेको प्रहरीले जनाएको छ। बरामद पटाकाको अनुमानित मूल्य ४० हजार रुपैयाँ रहेको छ।
प्रहरीले बरामद पटाका आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखेको छ। घटनामा संलग्न व्यक्तिको पहिचान तथा खोजतलास तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
















Discussion about this post